• ८ वैशाख २०८१, शनिबार

अग्निपीडित मुक्त कमैयाको घर प्रदेश सरकारले बनादिने

blog

अविनाश चौधरी

धनगढी, वैशाख १९ गते । अग्निपीडित कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरवासी मुक्त कमैयाको घर सुदूरपश्चिम प्रदेश सरकारले बनाउने प्रतिबद्धता जनाएको छ । प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अग्निपीडित मुक्त कमैयाको घर बनाउने भएको हो । गएको आइतबार गहुँको नालमा लागेको आगो सल्केर मुक्त कमैयाको घर जलेको थियो ।

आगलागी भएको विपतपुर बस्तीको अनुगमन गर्नुहुँदै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगलागी पीडित मुक्त कमैयाका घर प्रदेश सरकारले निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेर अग्निपीडित मुक्त कमैयाको घर निर्माण गरिने बताउनुभएको छ । प्रदेश सरकारले विपन्न समुदाय र वर्गका परिवारका लागि एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत घर निर्माण गर्दैआएको छ । 

आगलागीबाट पूर्ण क्षति भएका घरपरिवारलाई प्रदेश सरकारले तत्काल प्रतिपरिवारलाई ५० हजार रुपियाँ राहत दिने प्रतिबद्धता जनाएको छ । यसैगरी, निःशुल्क रुपमा धानको बीउ र तत्काललाई घर बनाउन निःशुल्क काठ पनि उपलब्ध गराइने भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले बताउनुभयो । 

सो बस्तीका मुक्त कमैयाले लालपुर्जा नपाएकाले प्रदेश सरकारले लालपुर्जासहित घर निर्माण गरेर हस्तान्तरण गर्ने जानकारी दिनुभयो । ‘सरकारले यसै ठाउँको लालपुर्जासहित घर निर्माण गरेर हस्तान्तरण गर्नेछ’, उहाँले भन्नुभयो । 

वैशाख ११ गते दिउँसो विपतपुर मुक्त कमैया बस्तीमा आगलागी भएको थियो । आगलागीबाट पूर्ण, आंशिक गरी ७१ घरमा क्षति भएको छ । सो गाउँका भलमन्सा हिङ्गु चौधरीका अनुसार आगलागीबाट २७ घर पूर्ण रुपमा जलेर खरानी भएको छ । १२ घर आंशिक रुपमा जलेका र आगलागीबाट जोगाउन डोजरले संरचना हटाउँदा ३२ घरमा आंशिक क्षति भएको छ ।  

पूर्ण र आंशिक रुपमा घर जलेका मुक्त कमैयाको खाद्यान्न, लत्ताकपडा, नगद, गरगहना, कृषि उपकरण जलेर नष्ट भएको छ । यस्तै, केही परिवारका पशु चौपाया पनि मरेका छन् ।