प्याजको मूल्य बढेपछि उपभोक्ता मर्कामा

सीता शर्मा

काठमाडौँ, भदौ ९ गते । हरेक उपभोक्ताको भान्सामा प्रयोग हुने सुकेको प्याजको भाउ भदौ लागेसँगै ह्वात्तै बढेको छ । एक हप्ताको बीचमा प्याजको भाउ थोक बजारमै एक सयदेखि एक सय १० रुपियाँ पुगेको छ । यो मूल्य यस वर्षकै उच्च भएको कालिमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारमै गत हप्ताको तुलनामा यो हप्ता सुकेको प्याजको मूल्य दोब्बरसम्म वृद्धि भएको छ भने खुद्रा बजारमा त अझै बढेको छ ।  समितिका अनुसार केही दिनदेखि तराईका जिल्लामा बन्द भइरहेको र भारतबाट दैनिक नेपाल भित्रिने सुकेको प्याजको परिणाम झण्डै आधा घटेपछि मूल्य बढेको हो ।
दैनिक एक सय टन सुकेको प्याजको माग भएको उपत्यकामा तीन÷चार दिनदेखि ५० देखि ५५ टन मात्र प्याज भित्रिने गरेकाले मूल्य आकासिएको समितिले जनाएको छ ।  कालिमाटी बजारका प्याज थोक व्यापारीहरूले सुकेको प्याजको भाउ महँगिएपछि उपभोक्ताहरूले पनि निकै कम मात्र खरिद गर्न आउने गरेको बताउँछन । पछिल्लो समयमा प्याजको भाउ महँगिएकाले नेपाली बजारमा प्याजको भाउ अझै महँगो हुनसक्ने व्यापारी बताउँछन् । onion
यो वर्षको सुरुमा ३५ देखि ३८ रुपियाँ थोक मूल्यमा कारोबार भएको प्याजको भाउ बर्खा लागेपछि बढेर किलोमा ७० देखि ७५ रुपियाँ थोक मूल्य पुग्यो । साउनको बीचमा मूल्य केही घटेर प्रतिकिलोको ६५ देखि ६८ मा थोकमा कारोबार भएको प्याजको मूल्य भदौ लागेपछि ह्वात्तै बढेर एक सयदेखि १२० रुपियाँ थोक मूल्यमा कारोबार भइरहेको छ ।
नेपालमा प्याजको उत्पादन त्यति नहुने भएकाले सुकेको प्याजका लागि भारतको भर पर्नुपर्ने बाध्यता छ । यस वर्ष प्याज भारतमै कम उत्पादन भएकाले नेपाल भित्रिने प्याजको परिणाम घटेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
भारतबाट आउने प्याजको परिणाम नबढेमा प्याजको भाउ घट्ने सम्भावना कम रहेको समितिका योजना अधिकृत वियन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालमा प्याजको उत्पादन निकै थोरै मात्रामा हुन्छ । जेठ, असार महिनामा काभ्रे धादिङलगायतका केही जिल्लाबाट प्याज आउने भए पनि निकै कम मात्रै उत्पादन हुने भएकाले प्याजका लागि बारैमास भारतको भर पर्नुपर्ने बाध्यता छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना