• ७ वैशाख २०८१, शुक्रबार

अब नढाँट्न सुकुम्बासीको आग्रह

blog

धनीपुर्जा पाउने आसमा रहनुभएका ९० वर्षीय वृद्ध धनबहादुर राई । सुकुम्बासी बस्ती पस्ने ठाउँमा राखिएको ब्यानर ।

दमक समाचारदाता

दमक, वैशाख १८ गते ।  राजनीतिक दलहरूले हरेक निर्वाचनमा प्रमुखताका साथ उठाउने सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान नहुँदा सकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू चिन्तित बनेका छन् । आफूहरू सधैँ भोट बैङ्कका रूपमा मात्र प्रयोग भइरहेको भन्दै उनीहरूले अब धेरै नढाँट्न उम्मेदवार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

झापाको कमल गाउँपालिका–२ मा कमल खोलाको किनारमा बसेका तीन दर्जनभन्दा बढी घरपरिवारले अढाइ दशकदेखि आफू बसेको जमिनको धनीपुर्जा पाउने आश गरे पनि अहिलेसम्म पाएका छैनन् । उनीहरूले उक्त बस्ती पस्ने ठाउँको एक सार्वजनिक फैलचामा एउटा ब्यानर टाँगेर राजनीतिक दलहरूलाई खबरदारी गर्ने गरेका छन् । ब्यानरमा ‘नो धनी पुर्जा नो भोट’ उल्लेख गरिएको छ । 

स्थानीय एक सुकुम्बासी नेताका अनुसार हरेक निर्वाचनमा तत्कालै धनीपुर्जा दिने भन्दै नागरिकता र आवश्यक कागज पत्र लैजाने तर फेरि चुनाव सकिएपछि कोही पनि नआउने अवस्था यहाँको रहेको छ । सधैँ नेताहरूले हामीलाई ढाँटेकाले हामीले बाध्य भएर ब्यानर टाँगेका हौँ’, उहाँले भन्नुभयो ।

त्यही बस्तीमा रहनुभएका एक ९० वर्षीय वृद्ध धनबहादुर राईले धनीपुर्जा नै नपाई आफू मर्ने अवस्था आउन लागेको बताउनुभयो । ‘कमल खोलाको किनारमा बसेको पनि २५ वर्षभन्दा बढी भयो । योभन्दा अघि अर्कैको घरमा बसेर परिवार र ज्यान पालेका थियौँ’, उहाँले भन्नुभयो ।

एउटा भएको छोरो पनि जन्डिसका कारण मृत्यु भएको र श्रीमती पनि तीन वर्ष ओछ्यानमा थलिएर राम्रो उपचार नपाएका कारण मृत्यु भएको उहाँले बताउनुभयो । गरिब र जग्गा जमिन नहुनुको पीडा धेरै छ, गहभरि आँसु झार्दै उहाँले भन्नुभयो । 

आफूले धनीपुर्जा पाउने आशमा धेरै ठाउँ गएको उहाँले सुनाउनुभयो । ‘कहिले बिर्तामोड, कहिले चन्द्रगढी र कहिले दुधे पनि गएँ’ उहाँले भन्नुभयो, ‘धेरै पटक आश देखाएर पनि धनीपुर्जा पाइएन’, उहाँको गुनासो थियो । 

स्थानीय चन्द्रमाया राईले अब कुनै पनि राजनीतिक दललाई विश्वास गर्ने अवस्था नरहेको बताउनुभयो । चुनाव आउने समयमा भोली नै धनीपुर्जा दिउँला जसरी आउँछन् र त्यसपछि हराउँछन्, उहाँले भन्नुभयो । आफूजस्तै यहाँ ४० भन्दा बढी घरपरिवार धनीपुर्जाविहीन रहेको उहाँको बताउनुभयो । 

यो सकुम्बासी बस्ती कमल गाउँपालिकाको कार्यालयबाट पाँच सय मिटरको दूरीमा मात्र रहेको छ भने स्थानीय क्याम्पा बजारसँगै जोडिएको छ । यो पटक पनि स्थानीय राजनीतिक दलले सुकुम्बासी समस्यालाई आफ्नो प्राथमिक कामको रूपमा चुनावी प्रतिबद्धता पत्रमा राखेका छन् ।