• १३ वैशाख २०८१, बिहिबार

‘समुचित प्रयोगबाट विकास लक्ष्य प्राप्त’

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयामको रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ । पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, २०७९ का अवसरमा शुभकामना दिनुहुँदै उहाँले सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिनुपर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमा प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाई आमनागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रूपमा सेवा उपलब्ध गराउन प्रविधि क्षेत्रसँग सम्बन्धित सबैमा आग्रह पनि गर्नुभएको छ । “गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विस्तार, सम्मुन्नत राष्ट्र निर्माणको आधार” भन्ने मूल नारासाथ देशव्यापी रूपमा राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस २०७९ मनाइँदैछ । 

प्रधानमन्त्री देउवाले विश्वव्यापी रूपमा सञ्चार तथा सूचना प्रविधिको बढ्दो प्रयोगले राज्य व्यवस्था सञ्चालन, विकास व्यवस्थापन, सार्वजनिक सेवा, सूचना प्रवाह, सामाजिक अन्तक्र्रियालगायतका विषयमा आमूल परिवर्तन हुँदै आएको बताउनुभएको छ । उहाँले सन्देशमा हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्य प्राप्त गर्न सकिने उल्लेख गर्नुभएको छ ।

सूचना तथा सञ्चार प्रविधिको विकास एवं विस्तार गरी सुशासन कायम गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनको प्रक्रियामा रहेको उल्लेख गनुहुँदै उहाँले प्रविधिको प्रयोगमा अभिवृद्धि गर्दा गुणस्तर कायम गर्न र यसबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ । 

सुरक्षित साइबर सुरक्षा नीति : कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई व्यवस्थित गर्न सरकारले नीतिगत, कानुनी, संरचनागत तथा प्रक्रिया निर्माण, परिमार्जन र सुधारका कार्य उच्च प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ । उहाँले पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, २०७९ का अवसरमा शुभकामना सन्देश दिँदै व्यवस्थित तथा सुरक्षित साइबर सुरक्षा नीति निर्माणको काम भइरहेको उल्लेख गर्नुभएको छ ।  मन्त्री कार्कीले हाल सञ्चालनमा रहेका डाटा सेन्टर तथा सरकारी क्लाउडको मूल्याङ्कन तथा पुनरवलोकन गर्नुका साथै थप डाटा सेन्टर स्थापना कार्य भइरहेको उल्लेख गर्नुभएको छ ।