• १६ चैत २०८०, शुक्रबार

वैदेशिक लगानी वृद्धि

blog

लक्ष्मी सापकोटा

काठमाडौँ, वैशाख १८ गते  । कारोना महामारी नियन्त्रण हुँदै गएपछि उद्योग स्थापनाका लागि वैदेशिक लगानी आउने क्रम बढेको छ । चालू आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत)मा वैदेशिक लगानीका १५९ परियोजनालाई स्वीकृत गरिएको छ । यसका लागि ३३ अर्ब ४२ करोड पाँच लाख रुपियाँ प्रतिबद्धता आएको छ । 

यो प्रतिबद्धता रकम अघिल्लो आर्थिक वर्षको पूरै अवधिको भन्दा बढी हो । आव २०७७/७८ मा ३२ अर्ब रुपियाँको लगानी प्रतिबद्धता आएको थियो । कोभिड–१९ महामारी कम हुँदै जाँदा उद्योग र व्यापार व्यवसाय सञ्चालन गर्न सहज हुँदै गएकाले वैदेशिक लगानी प्रतिबद्धता बढेको हो । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले कोभिड–१९ महामारी उच्च रहेको समयमा वैदेशिक लगानी कम भए पनि अहिले बढ्दै गएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “कोभिड महामारी नियन्त्रणमा आएकाले लगानी वातावरण सहज भएको र नीतिगत सुधार गरिएकाले यो वर्ष लगानी बढेको छ ।” तत्काल प्रतिफल आउने खालका उद्योग पर्यटन, सेवा र उत्पादनमूलक उद्योगमा लगानी बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।  विभागका अनुसार हालसम्म मुलुकमा तीन खर्ब ९८ अर्ब ३८ करोड रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धतालाई स्वीकृति गरिएको छ । 

मुलुकमा पाँच वर्षको अवधिमा दुई खर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ ।  यो लगानी प्रतिबद्धता पर्यटन, सेवा, उत्पादनमूलक, सूचना प्रविधि, ऊर्जा र कृषि तथा वनजन्य गरी छवटा क्षेत्रमा आएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार आव २०७३/७४ देखि २०७८/७९ को चैतसम्म एक हजार ७१० परियोजनामार्फत दुई खर्ब २४ करोड सात लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । 

यस अवधिमा सबैभन्दा धेरै उत्पादनमूलक, सेवामूलक र पर्यटन उद्योगमा लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार यस अवधिमा पर्यटन ५९०, सेवामूलक ५३१ र २५८ उत्पादनमूलक उद्योगमा लगानी प्रतिबद्धता आएको छ । यो वैदेशिक लगानीबाट ६६ हजार ५०९ जनाले रोजगारी पाउने जनाइएको छ । विभागका अनुसार आव २०७३/७४ मा चार सय परियोजनामा १५ अर्ब २० करोड छ लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो भने २०७४/७५ मा चार सय परियोजनामा ५५ अर्ब ७६ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । आव २०७५/७६ मा ३४४ परियोजनामा २५ अर्ब ४७ करोड नौ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ । त्यतिबेला कोभिड–१९ महामारीका कारण वैदेशिक लगानी आधा घटेको थियो । 

आव २०७६/७७ मा २२३ परियोजनामा ३७ अर्ब ८० करोड पाँच लाख लगानी प्रतिबद्धता आएकामा २०७७/७८ मा १८४ परियोजनामा ३२ अर्ब सात करोड दुई लाख रुपियाँ प्रतिबद्धता आएको थियो । हाल विभागमार्फत आउने विदेशी लगानी स्वीकृत भएको दुई वर्षभित्र सम्बन्धित लगानीकर्ताले उद्योग व्यवसायमा लगानी गरिसक्नुपर्ने व्यवस्था छ । 

पन्धौँ योजनाको लक्ष्य र उद्देश्यअनुसार वैदेशिक लगानी आकर्षण गर्ने प्रयास भइरहेको छ । यो आवधिक योजनाले वैदेशिक लगानीको आकर्षण र अभिवृद्धि गरी उत्पादन, उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने लक्ष्य राखेको छ । मुलुक भित्रिने प्रत्यक्ष वैदेशिक लगानीलाई उच्च र दिगो विकास गर्नु, लगानीको माध्यमबाट पुँजी, प्रविधि, प्राविधिक सीप भिœयाउने लक्ष्य यो योजनाको छ । 

यसैगरी वैदेशिक लगानी आकर्षण गर्न आवश्यक कानुनी संरचनागत र प्रक्रियागत सुधार र सरलीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्ने, तुलनात्मक लाभ, उत्पादनमूलक तथा रोजगारमूलक क्षेत्रमा लगानी आकर्षित गर्ने, स्थानीय स्रोतसाधन र सीपको उपयोग तथा प्रादेशिक सन्तुलन कायम हुनेगरी प्राथमिकताका क्षेत्रमा वैदेशिक लगानी परिचालन गर्ने पन्ध्रौँ योजनाको नीति र कार्यनीति छ ।