• ६ चैत २०८०, मङ्गलबार

सुरक्षाकर्मी परिचालन सुरु

blog

काठमाडौँ, वैशाख १७ गते । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन सुरु भएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन गरिएको हो ।  

गृह मन्त्रालयले शान्त, सुरक्षित, निष्पक्ष तथा स्वतन्त्र ढङ्गले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएको छ । यसका लागि म्यादी प्रहरी एक लाख, नेपाल प्रहरी ६२ हजार, सशस्त्र प्रहरी ३२ हजार, सेना ७१ हजार र राष्ट्रिय अनुसन्धान विभागबाट पाँच हजार जनशक्ति परिचालन गरिने मन्त्रालयले जनाएको हो । 

निर्वाचनका लागि शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सुरक्षा तयारी, मतदान स्थल अनुगमन, सुरक्षा चुनौतीको विश्लेषण र सुरक्षाकर्मी परिचालनलगायत आवश्यक रणनीति योजना कार्यान्वयनमा ल्याइएका छन् । 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदानकेन्द्र  छन् । तीमध्ये करिब दुई हजार नौ सय अति संवेदनशील, चार हजार चार सय संवेदनशील र तीन हजार तीन सय सामान्य अवस्थाका मतदानकेन्द्र छन् । 

अति संवेदनशील मतदान केन्द्रमा छ म्यादी, पाँच प्रहरी गरी ११ जना, संवेदनशीलमा पाँच म्यादी, चार प्रहरी गरी नौ जना र सामान्य मतदान केन्द्रमा चार म्यादी, तीन प्रहरी गरी सात जना सुरक्षाकर्मी परिचालन हुने जानकारी प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रवक्ता विष्णुकुमार केसी निर्वाचन मितिको एक हप्ताअघि नै सुरक्षाकर्मी सम्बन्धित स्थानमा खटिइसक्ने बताउनुभयो । यही वैशाख २५ देखि २८ गतेभित्रमा सम्पूर्ण मतदानस्थलमा सुरक्षाकर्मी खटिसक्ने छन् । 

सशस्त्र प्रहरी बललाई निर्वाचन सुरक्षाअन्तर्गत मतदानकेन्द्रको दोस्रो घेरामा राखिएको छ । सशस्त्र प्रहरी प्रवक्ता विदुर खड्काका अनुसार मतदान स्थल तथा मतदानकेन्द्रमा नियमित मोबाइल गस्ती, जिल्ला निर्वाचन कार्यालय सुरक्षा व्यवस्था मिलाउँदै आएको छ । उहाँले मतदान टोली, मतपत्र ओसारपसार, मतदानपछि मतपेटिका ढुवानी र सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था पूरा गरिएको बताउनुभयो । 

नेपाली सेनाले उपत्यका बाहिर तीन र काठमाडौँमा एक गरी चार स्थानबाट आवश्यक जनशक्ति परिचालनका लागि हेलिकप्टरसहितको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएको छ । मतपत्र र निर्वाचन सामग्री ढुवानीमा सैनिक हेलिकप्टर प्रयोग भइरहेको छ ।

स्थानीय तह निर्वाचनका लागि गत चैत १ गतेबाट नै सेनाले निर्वाचन सुरक्षा तयारी सञ्चालन गर्दै आएको छ । सैनिक प्रवक्ता नारायण सिलवालले केन्द्रदेखि जिल्ला तहसम्म निर्वाचन सुरक्षामा सेनाको सहभागिता रहेको बताउनुभयो । 


Author

देवबहादुर कुँवर