वृक्षरोपण पछि बगर हरियो वनमा परिणत

मुस्ताङ, भदौ ७ गते । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले निरन्तररुपमा वृक्षरोपण गर्न थालेपछि उपल्लो मुस्ताङका बगर हरियो जङ्गलमा परिणत हुन थालेको छ । सन् १९९२ मा एक्याप स्थापना भएदेखि वृक्षरोपण कार्यलाई पहिलो प्राथमिकता दिएपछि अहिले लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, छुसाङ र सुर्खाङ गाविसका बगर हरियाली वनमा परिणत हुन थालेको हो ।

उच्च हिमाली क्षेत्र, तीव्र गतिमा बहने हावा र चिसोका कारण यी क्षेत्रमा सामान्य झाडीबाहेक अरु केही हुँदैनन् । मरुभूमिदेखि नाङ्गा पाखा र बगरमा २० वर्षदेखि वृक्षरोपण र आवश्यक तारबार गर्न थालेपछि अधिकांश बिरुवा हुर्किदै गएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले बताउनु भयो ।

उहाँका अनुसार, एक्यापले यी छ गाविसमा विद्यालय, स्थानीय आमा समूह र गाविसस्तरीय संरक्षण व्यवस्थापन समितिमार्फत वार्षिक ५० हजारको हाराहारीमा वृक्षरोपण गरिँदै आएको छ । “छुसाङ, लोमान्थाङ, घमी र सुर्खाङ गाविसमा बढी बिरुवा हुर्किएको छ, धेरै वर्षअघिसम्म बगर रहेका पाखा अहिले वनभोजस्थल बनेका छन्” उहाँले भन्नुभयो ।

एक्यापले जोमसोम र लोमान्थाङ कार्यालय बनाएर उपल्लो र तल्लो क्षेत्रमा वृक्षरोपण अभियान सञ्चालन गर्दै आएको छ । तल्लो क्षेत्रमा प्रशस्त जङ्गल भएका कारण तरकारी र स्याउको बेर्ना तथा बिरुवा वितरण गरिँदै आएको जनाइएको छ ।

हावापानी र वातावरणका कारण उपल्लो क्षेत्रमा भोटे पीपल बढी प्रभावकारी हुने एक्यापले जनाएको छ । “सल्ला र धुपीका बिरुवा पनि हुन्छ तर त्यो हुर्कन एकदमै समय लाग्ने र गाहे हुन्छ, प्रमुख शेरचनले भन्नुभयो । एक्यापले व्यक्तिगत वृक्षरोपण गर्नेलाई प्रतिबिरुवा रु २० र सामूहिकरुपमा गर्नेलाई रु २५ सहयोग गर्दै आएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना