प्रहरीले सक्रियतामा मिलापत्रले ल्यायो खुसीयाली



जलेश्वर, पुस ११ गते । मोबाइलबाटै पतिले तलाक दिएको कारण परिवारको विचल्ली भएको खबरहरु पत्रपत्रिकामा आएपछि प्रहरीले एकजोडीलाई प्रहरी कार्यालयमा सम्झाईवुझाई गरेर मिलापत्र गराएको छ ।
    प्रहरीले मिलापत्र मात्रै होइन उनीहरुको विवाहदर्ता र छोराछोरीको जन्मदर्ता पनि गराएको छ ।
    साउदी अरबमै छँदा केही समय अघि पर्सादेवाड ७ बस्ने महमद मुस्तकिमले पत्नी हसमुन खातुनलाई मोबाइलबाटै तलाक दिएका थिए । मुस्लिम समुदायमा तिनपल्ट तलाक भनिदिएपछि सम्बन्धविच्छेद भएको मानिने परम्परा रहँदै आएको छ ।
    एक दशक अगाडी गाउँकै महमद मुस्तकिमसंग विहे गरेकी हसमुनलाई पतिले विदेशबाटै मोबाइलमा तलाक दिएपछि बिचल्लीमा परेकी थिइन । जिल्ला प्रहरी कार्यालयमै पति,बच्चा सहित आएकी उनले दुई वर्ष अगाडी साउदी अरब गएका पतिले पैसा पठाए होलान भनेर मोबाइलमा गप्प गर्न जाँदा तलाक दिएको वताइन । उनले सो समयदेखि सासुले आफुलाई बच्चा सहित निकाला गरिदिएपछि आफु माइतमै बस्दै आएको वताइन ।
    पत्रपत्रिकामा तलाकको कारण महिलाहरु बिचल्लीमा पर्दै गएको समाचारहरु आउन थालेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुवैलाई बोलाई सम्झाई बुझाई गरेको प्रहरी नायव उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘धार्मिक रुपमा त धेरै ग्राहो काम हो तर हामीले कानुनको सहारा लिएर सम्झाईबुझाई गरेपछि पतिले राख्न सहमत भयो ।’
    सहमति भएपछि तत्कालै गाउँ विकास समिति पर्सादेवाडका सचिवलाई बोलाएर विवाहदर्तासहित छोराछोरीको जन्मदर्ता गर्न लगाएको प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताउनुभयो । विवाहदर्ता र छोराछोरीको जन्मदर्ता तथा पतिको साथ पाएर हसमुन खुशीसाथ जिल्ला प्रहरीबाट विदा भएकी थिइन ।
    सो क्षणको सम्झना गर्दै जिल्ला प्रहरी कार्यालयमै रहेको महिला तथा बालबालिका सेलकी अमृता ले हामीले धेरै राम्रो काम गरेको अनुभूति भएको र आफुहरुलाई धेरै सन्तुष्टि पनि मिलेको सम्झना सुनाईन ।
    उहाँले एउटा मात्रै नभएर अझै यस्ता महिलाहरु गाउँमा सयौं रहेकोले उनीहरुलाई पनि यसरी नै मिलापत्र गराउन सकियो र पति,पत्नी तथा बालबच्चाहरुसंगै बस्ने बातावरण सृजना भयो भने अझै राम्रो हुने र आफुहरु यसको सक्दो पहल गर्ने वताइन ।
    सदरमुकाम जलेश्वरदेखि करिब ३० किलोमिटरको दुरीमा पर्ने पर्सादेवाड गाविसमा दुई सय भन्दा बढी महिलाहरु तलाकको कारण बिचल्लीमा रहेको बुझिएको मानव अधिकार संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष मदनकुमार झाले बताउनुभयो ।
    उहाँले ती महिलासंग विवाहदर्ता पनि नहुने तथा छोराछोरीको जन्मदर्ता पनि नहुने समस्याले गर्दा पनि कानुनी लडाई लडन झन अप्ठयारो हुने गरेको कारण थप महिलाहरु मर्कामा पर्दै गएको बताउनुभयो । उहाँले यसको लागि सबै सरोकारबालाहरुलाई एकसाथ लागेर यो समस्यालाई निराकरण गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।
    तलाक दिएपछि मिलापत्रको पनि आफ्नै धार्मिक प्रचलन रहेको र यसले झन महिलाहरुलाई हिंसामा पादै लगिएकोले पनि यसक्षेत्रमा ठोस काम गर्नुपर्ने स्थानीयहरुको वुझाई छ ।
    महिलाको क्षेत्रमा काम गर्ने महिला विकास कार्यालय भने कार्यक्रममुखी मात्रै देखिएको आरोप स्थानीयहरुको छ् । मुस्लिमको हक उत्थानको लागि काम गर्ने एक युवाले (पछि आफुलाई असर पर्ला भन्दै) नाम नलेखिदिन भन्दै वर्षमा एकदिन केही पत्रकारहरुलाई लगेर, उनीहरुको आँशु देखाउने कामबाहेक महिला विकास कार्यालयले कुनै ठोस काम गर्न नसकेको बताउनुभयो ।
    उहाँले यो तलाकको समस्या अहिलेको छैन् । दशकौंदेखि पर्सादेवाडका महिलाहरुको समस्या विभिन्न पत्रपत्रिकामा आइरहेका छन् तर खोइ त ? एउटा पनि ठोस काम भएको उहाँको प्रतिप्रश्न थियो ।
    सोही समुदायकी युवती स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमकी सामाजिक परिचालिका रिफत खातुनले बालविवाहको समस्या, परम्परागत धार्मिक मान्यता, अशिक्षा, जनचेतना अभावको कारणले यस्तो समस्या देखिएको बताउनुहुदैं ठोस कार्य नगरेसम्म यो समस्या समाधानमा नभई अझ बढन सक्ने बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना