• ६ चैत २०८०, मङ्गलबार

‘पल्पसा क्याफे’को कमाइ सन्तोषजनक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १६ गते । प्रदर्शनको पहिलो दिनदेखि दर्शकको उत्साहपूर्ण साथ पाउँदै आएको विमल सुवेदी निर्देशित नाटकले पहिलो सातामा पाँच लाख कमाइ गरेको छ । निर्देशक विमल सुवेदीले गोरखापत्रलाई उपलब्ध गराउनुभएको तथ्याङ्कअनुसार नाटकले पहिलो हप्तामा प्रति सो ५५ हजार कमाइ गर्दै कुल पाँच लाख पु-याएको हो ।

निर्देशक सुवेदीका अनुसार नाटकले पहिलो दिनदेखि अहिलेसम्म निरन्तर हाउसफुल दर्शक पाइरहेको छ । उहाँले टिकट नपाएका कारण हरेक दिन दर्शक फर्कन बाध्य भएको जानकारी दिनुभयो । “हरेक दिन ३० देखि ५० जनाको सङ्ख्यामा आउनुभएका दर्शक फर्केर जान बाध्य हुनुभएको छ । दर्शकको यो मायाले हामी भावविभोर भएका छौँ,” सुवेदीले भन्नुभयो ।  भर्खरै अनामनगरबाट थापागाउँमा सरेको नाटकघरमा दुई सय हाराहारी सिट सङ्ख्या छ । दर्शकले तीन सयदेखि एक हजारसम्म तिरेर नाटक हेर्न सक्ने छन् ।

विमल सुवेदीको निर्देशन रहेको नाटक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’को नाट्य रूपान्तरण हो । दस वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यासले तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर प्रसिद्धि कमाएको थियो । सशस्त्र युद्धमा सामेल भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले नजिकैबाट देखेको युद्धको वरपर उपन्यासको कथा घुमेको छ । विमल सुवेदी आफैँले अभिनयसमेत गर्नुभएको नाटकमा सृष्टि श्रेष्ठ, दीपेश राई, सङ्गीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह रानालगायतका कलाकारको अभिनय छ ।