• ६ चैत २०८०, मङ्गलबार

दस वस्तुको आयातमा बन्देज

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १५ गते  । सरकारले दसवटा वस्तुको आयातमा बन्देज लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मङ्गलबार राजपत्रमा सूचना प्रकाशन गर्दै असारसम्म ती वस्तुको आयातमा बन्देज लगाएको हो । 

सूचनाअनुसार मङ्गलबारदेखि लागू हुनेगरी कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा (औद्योगिक कच्चा पदार्थ बाहेक)को आयातमा बन्देज लगाइएको छ । 

त्यस्तै ७३ हजार रुपियाँ (छ सय डलर)भन्दा बढी मूल्यका मोबाइल सेट पनि असारसम्म आयात गर्न रोक लगाइएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चैतसम्म मात्रै नेपालले कुल ३५ अर्ब रुपियाँ बराबरको मोबाइल सेट आयात गरिसकेको छ । 

आयात बन्देज लगाइएका वस्तुको सूचीमा ३२ इन्चमाथिका रङ्गीन टेलिभिजन पनि परेको छ । त्यस्तै जिप, कार र भ्यान (एम्बुलेन्स र शववाहनबाहेक), २५० सीसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास पनि असारसम्म आयात गर्न बन्देज लगाइएको छ । 

तोकिएका वस्तुको आयात गर्न प्रतीतपत्र नखोल्न नेपाल राष्ट्र बैङ्कले यसअघि बैङ्कलाई निर्देशन दिइसकेको छ तर वैशाख १३ गतेभन्दा अगाडि बैङ्किङ माध्यमबाट आयात प्रक्रिया सम्पन्न भइसकेको हकमा भने यो व्यवस्था लागू नहुने राजपत्रमा स्पष्ट रूपमा उल्लेख छ । 

त्यस्तै नेपालस्थित कूटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि भने यी वस्तुहरू आयात गर्न बाधा नपर्ने राजपत्रमा उल्लेख छ । विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि सरकारले पछिल्लो समय आयात नियन्त्रण प्राथमिकतामा राख्न थालेको छ । 

यसअघि पुसको पहिलो हप्ता ४७ भन्दा बढी वस्तुको आयातमा ५० र शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गर्न राष्ट्र बैङ्कले निर्देशन दिइसकेको थियो । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन परीक्षणका लागि जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । 

राष्ट्र बैङ्कको फागुनसम्मको तथ्याङ्कअनुसार मुलुकमा छ महिना २१ दिनको आयात धान्न सक्ने मात्र विदेशी मुद्रा सञ्चिति छ ।