• ६ चैत २०८०, मङ्गलबार

प्रशिक्षण क्याम्पमा रहेका ९ फुटबल खेलाडीको विद्रोह

blog

प्रशिक्षणमा रहेका फुटबल खेलाडी र प्रशिक्षक । तस्बिर : एन्फा

काठमाडौँ, वैशाख १४ गते । एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेका नेपाली रष्ट्रिय फुटबल टोलीका नौ जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका छन् । बन्द प्रशिक्षणका लागि दशरथ रंगशाला नजिकै होटलमा राखिएका ९ जना खेलाडीले प्रशिक्षक अल्मुताइरीको ब्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रशिक्षण क्याम्प छाडेका हुन् । 

खेलाडीले मंगलबारनै होटल छाडेपनि बुधबार बिहान  प्रशिक्षणमा नआएपछि टोली ब्यवस्थापनलाई थाहा भएको थियो । क्याम्प छाड्नेमा टोलीका सिनियर खेलाडी रोहित चन्द देखि अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, सुजल श्रेष्ठ, दीनेश राजवंशी, विशाल राई, सुमन लामा र विशाल श्रेष्ठ हुनुहुन्छ । टोलीका सिनियर खेलाडी चन्दले सुरुमा प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको भन्दै असन्तुष्टि पोख्नुभएको थियो ।

रोहित पछिल्लो केही दिनदेखि प्रशिक्षणमा नआएपछि प्रशिक्षक र रोहितबीच विवाद भएको थियो । विवादपछि रोहितले होटल छाडेको र रोहितसँगै अन्य खेलाडीले पनि होटल छाडेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशिक्षण क्याम्प छाडेका खेलाडीसँग आफुले बुधबार कुरा गरेको बताउनुभयो ।

‘खेलाडीले प्रशिक्षकसँग विवाद गरेर क्याम्प छाडेछन् । आज मैले भेटेर कुरा गरेको छु । बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङसहित सबै पक्ष बसेर छलफल गरिन लागिएको छ,’ शेर्पाले गोरखापत्रसँग भन्नुभयो ।

खेलाडीले क्याम्प छाडेपछि टोलीका कप्तान किरण चेम्जोङले पनि मुख्य प्रशिक्षकको ब्यवहारप्रति आफ्नो असन्तुष्टि रहेको जनाउनुभएको छ । उहाँले सामाजित सञ्जाल फेसबुकमा खेल्नुभएको छ- राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको ब्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सँधै खेलाडीको पक्षमा छु । 

कुवेतमा हुने एसियन कप छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारको दोहामा अफगानिस्तानसँग मैत्री पूर्ण फुटबल समेत खेल्न लागेको छ । प्रशिक्षक अल्मुताइरीले २५ जना खेलाडी छनोट गरी बन्द प्रशिक्षण र तयारी सुरु गर्नुभएको थियो ।

प्रशिक्षण क्याम्प सुरु गर्नुअघिनै अल्मुताइरीले पत्रकार सम्मेलनमार्फत नेपाल एसिया कपमा छनोट हुन नसक्ने बताउनुभएको थियो । तर प्रशिक्षकको भनाई प्रति तत्काल असन्तुष्टि जनाउँदै चन्द लगायत खेलाडीले आफुहरु छनोटका लागि सक्दो मिहेनत गरेर खेल्ने धारणा राख्नुभएको थियो ।  

एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । तुलनात्मक रुपमा नेपालका लागि यो कठिन समूह पनि हो । यस समूहमा नेपालसँगै कुवेत, जोर्डन र इन्डोनेसिया रहेको छ । छनोट खेल जुन ८ देखि १४ तारिखसम्म कुवेतमा हुनेछ । समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।