• ६ चैत २०८०, मङ्गलबार

स्थानीय तह निर्वाचन

रसुवामा एमालेका अध्यक्ष पदको मनोनयन दर्ता रद्द

blog

काठमाडौं, वैशाख १३ गते । रसुवाको आमाछोदिङमो गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्षको उम्मेदवारमा गरिएको मनोनयन रद्द भएको छ । २०७४ सालमा वागमती प्रदेश संसदको बन्दसूचीमा नामवली रहेका टेम्रेल तामाङले अध्यक्षमा उम्मेदवार दिनुभएपछि उहाँको मनोनयन दर्ता नगरिएको सहायक निर्वाचन अधिकृत अमरबहादुर जिसिले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

तात्कालीन नयाँ शक्ति पार्टीबाट वागमती प्रदेश संसदमा तामाङको नाम बन्दसूचीमा समावेश गरिए पनि हालसम्म नहटाइएपछि उहाँको मनोनयन दर्तामा कानुनी बाधा पुगेको उहाँले जानकारी दिनुभयो । नयाँ शक्ति पार्टीबाट तामाङ नेकपा एमाले प्रवेश गर्नुभएको थियो । 

सोमबार सामान्य विवादपछि एमालेले पुनः फुर्वु सिङगी तामाङलाई फेरी अध्यक्षमा मनोनयन दर्ता गराएका थिए । तर अन्यदलले एउटै पार्टीबाट दुई वटा उम्मेदवार दर्ता भएको भन्दै विरोध जनाएपछि पछिल्लो मनोनयन दर्ता खारेज गरेको जिसिले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयले अघिल्लो मनोनयनलाई नै प्राथमिकता दिएको तर कानुनी अड्चन आएसँगै निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा जानकारी सहितको प्रतिवेदन पेश गरिएको जनाएको छ ।

आयोगको केन्द्रीय कार्यालयको निर्णयनै अन्तिम हुने तर बन्दसूचिबाट नयाँ शक्ति पार्टीले नाम नहटाएका कारण मनोनयन दर्ता हुने सम्भावना भने नभएको कार्यालयको भनाई छ । बन्दसूचीमा नाम भएका कारण अध्यक्षका उम्मेदवार तामाङ प्रदेश सांसद हुने बाटो अझै खुला हुने कानुनी व्यवस्था छ । 

यस गाउँपालिकामा २७ वटा स्थानमा निर्वाचन हुनेछ भने अध्यक्षका लागि तामाङसहित आठ जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ । एक जना स्वतन्त्र छन् । गाउँपालिकामा जम्मा पाँच वडा छन् ।