• ६ चैत २०८०, मङ्गलबार

उम्मेदवारी दर्ता सङ्ख्यामा एमाले सबै दलभन्दा अगाडि

blog

लक्की चौधरी

काठमाडौं, वैशाख १३ गते । आसन्न बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ । निर्वाचन आयोगको उम्मेदवारी लगत विवरणअनुसार अन्य दलभन्दा एमालेबाट उम्मेदवारी दर्ताको सङ्ख्या बढी देखिएको हो । 

निर्वाचन आयोगको लगतअनुसार प्रमुख पदमा एमालेबाट २८१ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, अध्यक्ष पदमा ४४३ जनाको उम्मेदवारी दर्ता भएको देखिएको छ । सो दलबाट उपप्रमुख र उपाध्यक्षमा क्रमशः २७६ र ३५७ उम्मेदवारी परेको छ । त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार २३४ जनाको उम्मेदवारी दर्ता भएको आयोगको तथ्याङ्क छ । 

त्यस्तै, सत्तारुढ दल नेपाली काँग्रेसबाट प्रमुख पदमा २५७ र अध्यक्षमा ३८० जनाको उम्मेदवारी परेको आयोगको लगत देखिन्छ । सोहीअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा २४१ जनाको उम्मेदवारी परेको छ । नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पदका लागि २८७ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट प्रमुख पदमा १३१७ र अध्यक्ष पदमा १००६ जनाको उम्मेदवारी परेको आयोगको लगत देखिन्छ । 

उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल नेपाली काँग्रेसलाई उम्मेदवारी दर्तामा उछिनेको छ । उपप्रमुखमा राप्रपाबाट २२१ उम्मेदवारी परेको छ भने काँग्रेसबाट २०४ उम्मेदवारी परेको देखिएको छ । सोहीअनुसार उपाध्यक्ष पदका लागि काँग्रेसबाट ३५४ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट सोही पदमा ३०६ जनाको उम्मेदवारी दर्ता भएको छ । 

त्यस्तै, वडा अध्यक्षमा एमालेबाट ६२४५, काँग्रेसबाट ५८५३, माओवादी केन्द्रबाट ४१९२ र स्वतन्त्रबाट ५६०२ जनाको उम्मेदवारी परेको छ । सोहीअनुसार महिला सदस्यका लागि एमालेबाट ६०३३, काँग्रेसबाट ५६९९, माओवादी केन्द्रबाट ३८६८, राप्रपाबाट १९८२ जनाको उम्मेदवारी दर्ता भएको छ । 

त्यस्तै, दलित महिला सदस्यका लागि एमालेबाट ५८६४, काँग्रेसबाट ५४४६, माओवादी केन्द्रबाट ३६२५, राप्रपाबाट १५६७ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । त्यस्तै, सदस्य खुलाका लागि एमालेबाट १२ हजार १५७, काँग्रेसबाट ११ हजार ३२५, माओवादी केन्द्रबाट ८ हजार ९८ र राप्रपाबाट ४ हजार ४७४ जनाको उम्मेदवारी दर्ता भएको छ ।