• ६ चैत २०८०, मङ्गलबार

स्थानीय निर्वाचनमा महिला सहभागिता

चुनावी माहौल बढ्यो तर महिलाको उम्मेदवारी भने घट्यो

blog

लक्ष्मण दर्नाल 

काठमाडौँ, वैशाख १३ गते । यस पटकको स्थानीय निर्वाचनमा महिलाको प्रतिनिधित्व अघिल्लो निर्वाचनको भन्दा कम हुने देखिएको छ । स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला हुनुपर्ने व्यवस्था गठबन्धनबाट उम्मेदवारी दिँदा लागू नहुने भएपछि महिलाको प्रतिनिधित्व घट्ने देखिएको हो । महानगर र उपमहानगरमा गठबन्धनबाट उम्मेदवारी दिँदा दुबै पदमा पुरुष परेका छन् । तर दुबै पदमा महिला भने कतै परेका छैनन् ।   

सत्तारुढ गठबन्धनमा अधिकांशमा प्रमुख र उपप्रमुखमा पुरुषले उम्मेदवारी दिएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अन्य दलसँग सहकार्य र गठबन्धन गरेको तहमा दुबै पदमा पुरुष नै उम्मेदवार उठाएको छ । 

छ वटा महानगरपालिकामध्ये दुई महानगर प्रमुखमा सत्ता गठबन्धनले महिलालाई प्रमुखमा उम्मेदवार दिएको छ । काठमाडौँ महानगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सिर्जना सिंहले प्रमुखमा उम्मेदवारी दिनुभएको छ । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादीका रेनु दाहालले प्रमुखमा उम्मेदवारी दिनुभयो । अन्य महानगरमा प्रमुख पुरुष उम्मेदवारी छन् भने अधिकांशमा पुरुष नै उपप्रमुखको उम्मेदवारी छ । 

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल एमालेले ११ वटा उपमहानगरपालिकामध्ये तीनवटामा मात्र महिलालाई प्रमुखमा उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनबाट हेटाैंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीका मीना लामाले उम्मेदवारी दिनुभएको छ । अन्य उपमहानगरमा सत्ता गठबन्धनले महिलालाई प्रमुखको उम्मेदवारी दिएको छैन । 

काठमाडौँ महानगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सिर्जना सिंहले प्रमुखमा उम्मेदवारी दिनुभएको छ । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादीका रेनु दाहालले प्रमुखमा उम्मेदवारी दिनुभयो ।

नेकपा एमालेले धरान उपमहानगरपालिकामा मञ्जु काफ्ले र जीतपुर सिमरा उपमहानगरपालिकामा सरस्वती चौधरीलाई प्रमुखको उम्मेदवार बनाएको छ । गठबन्धन नगरेका अन्य उपमहानगरपालिकामा एमालेले महिलालाई उपप्रमुखमा उम्मेदवारी दिएको छ ।       

सत्ता गठबन्धनबाट ललितपुर महानगरपालिकाका प्रमुख उपप्रमुखमा पुरुष छन् भने एमालेको तर्फबाट उपप्रमुखको पदमा महिलालाई मैदानमा उतारेको छ । भरतपुर महानगरमा एमाले र राप्रपाको तालमेल हुँदा पनि प्रमुखमा विजय सुवेदी र उपप्रमुखमा राप्रपाबाट हिमला गुरुङले उम्मेदवारी दिनुभएको छ ।

विराटनगर र वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनबाट प्रमुख उपप्रमुख दुवै पुरुष छन् । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको गठबन्धन रहेको वीरगञ्जमा प्रमुख र उपप्रमुख दुुबै पुरुष रहेका छन् । 

सत्तारुढ गठबन्धनले पोखरा महानगरपालिकामा भने प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा नेपाली काँग्रेसबाट कोपिला रानाभाटले उम्मेदवारी दिनुभएको छ । जनकपुर उपमहानगरपालिकामा पनि सत्तारुढ गठबन्धनले एक पुरुष÷ एक महिला उम्मेदवारी उठाएको छ । 

धरान उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट प्रमुख उपप्रमुख दुुबैमा पुरुषको उम्मेदवारी परेको छ । इटहरी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट दुबै पदमा पुरुषको उम्मेदवारी परेको छ । जीतपुर सिमरा र धनगढी उपमहानगरपालिकामा भने सत्ता गठबन्धनले प्रमुखमा पुरुष र उपप्रमुखमा महिलाको उम्मेदवारी दिएकोे छ । 

बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र कलैया उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट दुुबै पदमा पुरुषको उम्मेदवारी परेको छ ।