• ६ चैत २०८०, मङ्गलबार

काठमाडौंमा दैनिक आठ करोड लिटर मेलम्चीको पानी वितरण

blog

फाइल फाेटाे

काठमाडौं, वैशाख १३ गते । काठमाडौंमा दैनिक आठ करोड लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । १५ करोड लिटर पानी दैनिक रुपमा वितरण गर्ने लक्ष्य राखेको आयोजनाले आइतबारदेखि वितरण प्रक्रिया सुरु गरेको छ । 

काठमाडौंमा मेलम्चीको पानी वितरण सुरुसँगै आइतबार खानेपानी मन्त्री उमाकान्त चौधरीले बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीबाट पानीको पुनःवितरण सुरु गर्नुभएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईका अनुसार अहिले परीक्षणको रुपमा पानी वितरण गरिएको छ । अहिले खुमलटार, बाँसबारी पुरानो, पानीपोखरी पुरानो, मीनभवन र अनामनगरको ट्याङ्कीबाट पानी वितरण भइरहेको उहाँको भनाइ छ । 

क्रमैसँग केही दिनमै सबै ट्याङ्कीबाट पानीको नियमित वितरण सुरु गरिने र केही दिनमै महानगरका एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण हुने हाल पानीको मात्रा कम रहेको र क्रमैसँग बढ्दै जाने भएकाले हाल सबै ठाउँमा पानीको वितरण नगरिएको प्रवक्ता राईको भनाइ छ । पानी वितरणको तालिका बनिनसकेकाले कतिखेर शाखाबाट पानी आउँछ भन्ने यकिन नभएको उहाँले बताउनुभयो । 

‘हाल पानी वितरणको तालिका तय भइसकेको छैन यसकारण कतिखेर शाखाहरुबाट पानी वितरण हुन्छ यकिन भने छैन,’ उहाँले भन्नुभयो ‘केही दिनमै तालिका बनाएर पानी वितरण गर्ने योजनामा छौँ ।’ गतवर्ष परीक्षण भइसकेका मेलम्चीको धारासहित अन्य परीक्षण सकिएका धारामा मेलम्चीको पानी आउनेछ भने नयाँ धाराको निर्माण भइनसकेको र परीक्षण नभएको घरमा भने पुरानै धारामा पानी आउनेछ । 

मोटर लगाएर पानी ताने कारबाही 

मेलम्चीको पानीलाई उपत्यकाभर समानुपातिक तरीकाले बाँड्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडको तयारी छ । कतिपय घरधनीले ठूला मोटरको प्रयोग गरेर पानी तान्न सक्ने र अन्य घरधनीहरुलाई कम मात्रामा पानी जान सक्ने देखिएको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताउनुभयो । 

मोटरको प्रयोग गरेर पानी तान्नु गैरकानुनी काम हो । मोटर लगाएर पानी तानेको पाइए घरधनीलाइ कारबाही गरिने उहाँको भनाइ छ । ‘उपत्यकामा सबैलाई समानुपातिक तरिकाले पानी बाँड्नेछौँ, कसैले मोटरको प्रयोग गरेर पानी तानेको भेटिए कानुन बमोजिम कारबाही गर्नेछौँ,’ उहाँले भन्नुभयो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।