“समथर ठाउँको आशामा छन्” पहिरोको जोखिममा परेका वादी बस्ती

दैलेख, भदौ १ गते । दैलेख बजार सदरमुकामको पश्चिममा पर्ने वादी समुदाय अहिले जोखिमपूर्ण अवस्थामा छन् । धेरै ठाउँबाट समेटिएर एकै ठाउँमा रमाउँदै आएको बस्तीमा अहिले कोलहाल मच्चिएको छ । बर्सेनि पहिरोबाट प्रभावित हुने सो बस्तीमा शनिबार राति गएको पहिरोले पुरिएर एकै परिवारका एक महिला, दुई नाबालकले ज्यान गुमाउन प¥यो भने उनीहरुको किरिया बस्नेको समेत ज्यान जोखिममा छ ।

त्यहाँ भएका ६५ घरधुरी सबै पहिरोको जोखिममा रहेका छन् । उनीहरु पालैपालो सुत्ने गरेको बताएका छन् । पानी प¥यो भने त चिन्तै, चिन्तामा रात कटाउन बाध्यता छ । एक त जमिन नै भिरालो छ, त्यहीमाथि बजारबाट बग्ने पानीको नहरनै त्यो बस्तीमा खहरे खोलाजस्तै सुसाएर बग्ने गर्दछ ।

वादी समुदायमा अहिले छाँक टार्न नै मुस्किल परेको छ । काम गरेर जीवनलाई गुजारामा धकेल्दै आएका बस्ती अहिले सुनसानमय भएको छ । केही काम पाइन्छ कि भनेर अहिले बजारको चोकचोकमा देखिन थालेका छन् ।
सधैँ बजार भित्रिने ट्र«क र ट्याक्टरको पर्खाइमा रहने त्यो समूह बन्दको कारणले भरियाको कामसमेत पाउन छोडेका छन् । बन्दका कारणले खानाको जोहोका लागि हिँडेकी वादी समुदायकी अगुवा पैवा वादी भन्नुहुन्छ “एक छाँक टार्न मुस्किल परेको बेलामा दैव पनि हामीमाथि आइलाग्यो र अब कसरी १३ दिनसम्म छाँक टार्ने होला त्यहीमाथि बन्दले हामीलाई सताएको छ ।” “भरियाको काम गरेर खानको जोहो गर्ने एउटा हाम्रो पेसा हो त्यही पनि बन्द भयो ।” “मुस्किल छ जीवन निर्वाह गर्न बालबच्चा बोकेर काम गर्ने हामी अहिले त हात र मुखको भेटघाट नभएको पनि सात÷आठ दिन भयो ।” पैवा वादीले दुखेसो गर्नुभयो ।

पैँसट्ठी घरधुरीको समूहमा ४०० जना बस्दै आएका छन् । यो बस्तीमा पढेलेखेका कोही छैन सधैँ आफ्नो जीवन काममा प्रयोग गरियोे, अहिले पछुताएका छौँ किनकी जागिर भए यसो खानको जोहो त हुन्थ्यो आफू त जसरी नि बस्न सक्थ्यौँ नाबालकका मुख कसरी छेक्ने उहाँ भन्नुहुन्छ ।

यहाँभन्दा पहिला ओडारमा जीवन निर्वाह गर्दै आएका उक्त समूह द्वन्द्वका कारण गाँस, बास, कपासको खोजीमा दैलेख बजारस्थित भिरालो डाँडामा बस्न बाध्य छन् किनकी द्वन्द्वका बेलामा आफ्नो ज्यान जोगाउनलाई त्यो ठाउँमा बस्न बाध्य भएको बताउँछन् ‘मामा नहुनुभन्दा त कानो मामा पनि सार’ भनेजस्तै त्यो ठाउँमा बस्न बाध्य भयाँै भनी पैवा वादी भन्नुहुन्छ ।

सरोकारवालाले उपयुक्त स्थान नखोजी दिँदा बर्सेनि यही घटनामै दोहोरिँदै बस्न बाध्य छौँ । आएको १२÷१३ वर्ष भो बर्सेनि घामपानी सहेर बस्न बाध्य भएको उहाँ बताउनुहुन्छ ।
समुदायकी अगुवा पैवाले हाम्रो पालामा त पढेर जागिर खाने आशा हुँदाहुँदै पनि बाबा आमाको पेसा अगाल्नु परेको बताउनुभयो । पढ्न मन हँुदा पनि कसैले सहयोग गरेन । हाल आएर उक्त समूहका विभिन्न परिवारका १९ जना छोरीलाई ‘ज्योतिको घर नेपाल’ नामक संस्थाले काठमाडौँमा लगेर पढाउने व्यवस्था गरिदिएको छ । तर वादी समूह भन्छन्– छोराछोरी दुवैलाई पढाउने व्यवस्था गरिदिए हामी भरियाको काम गरे पनि आफ्नो जीवन निर्वाह गथ्र्यौँ, कतै चिन्ता लाग्छ हाम्रा छोराछोरीले पनि यो व्यवसाय अँगाल्नु पर्छकी भनेर । आफूहरुलाई सरोकारवालाले र अन्य कुनै पनि निकायले सहयोग नगर्दा पहिलेदेखि दुःख गर्दै आएका वादी समूह अहिले पनि बन्दले गर्दा काम गर्न नपाएर भोकभोकै बस्न बाध्य भएको बताउँछन् ।

उक्त समूहले सरोकारवालासँग सदरमुकाम नजिक उपयुक्त स्थानमा स्थानान्तरणका लागि आवश्यक पहल गरिदिनका लागि अनुरोध गरेको र जिल्लाका सरोकारवाला निकायले समेत उक्त समूहलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नका लागि गृहकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जानकारी गराउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना