निर्धारित मितिमै संविधान – नेम्वाङ



    काठमाडौँ, पुस ९ गते  । सभामुख सुवास नेम्वाङले दलका नेताहरूबीच सहमति भए नियमावली संशोधन गरेर भएपनि निर्धारित मितिमै संविधान जारी गर्न सकिने बताउनुभएको छ ।  

    नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको ‘राष्ट्र निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयक गोष्ठीमा उहाँले दलहरूबीच सहमति भएमा संविधान माघ ८ गते नै आउने सम्भावना रहेको छ भन्नुभयो ।

    सभामुख नेम्वाङले भन्नुभयो, “दलहरू २४ घण्टा खटेर संविधानका विवादित विषयमा सहमति प्रयास गर्नुस्, तोकिएको मितिमै संविधान जारी गर्न सकिन्छ ।”

    नेकपा (एमाले) नेता माधवकुमार नेपालले दलहरूबीच पारस्परिक अविश्वासका कारण सहमतिको वातावरण बिग्रदै गएको उल्लेख गर्दै समयमै संविधान जारी गर्न सहमतिकोे खोजी गर्नुपर्ने बताउनुभयो ।

    देशको एकता, भौगोलिक र समावेशी खालको सङ्घीय संरचना समेटिएको संविधान जारी गर्नुपर्ने भन्दै उहाँले बहुजातीय बसोबास रहेको हाम्रो मुलुकमा जातीय राज्यको परिकल्पना नेकपा (एमाले) लाई मान्य नहुने विचार व्यक्त गर्नुभयोे  ।

    एकीकृत नेकपा (माओवादी) नेता डा बाबुराम भट्टराईले सहमतिबाटै संविधान जारी गर्ने बाटो फुकाउनुपर्नेमा जोड दिदै काँग्रेस र एमालेले दुईतिहाई बहुमतका आधारमा संविधान जारी गर्दा सबैलाई बताउनुभयो ।

    उहाँले विस्तृत शान्ति सम्झौता, १२ बँुदे समझदारी र जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्न सहमतिको विकल्प नभएको भन्दै सहमतिबाटै संविधान जारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    नेपाली काँगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सहमति भए सहमतिबाट नभए प्रक्रियामा गएर भए पनि संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभयो ।

    उहाँले  नियमावली र कार्यतालिका निर्माण गरी द्रूत गतिमा काम गरेर मुख्य दलहरूबीच सहमति भएमा माघ ८ मा संविधान जारी गर्न सकिने बताउनुभयो ।

    प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले तोकिएको मितिभित्र संविधान जारी गर्न नसके मुुलुक ठूलो समस्यामा फस्ने खतरातर्फ सचेत गराउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्न भए पनि दलहरू मिल्नुपर्नेमा जोड दिनुभयो ।

    अन्नपूर्णपोष्टका प्रधान सम्पादक युवराज घिमिरेले जनताको भूमिकालाई न्यून गरेर दुर्घटना निम्त्याउने गरी ‘द्रूत गतिको कार्यतालिका’ मा गएर ल्याएको संविधान दीर्घकालीन नहुने विचार राख्नुभयो ।

    महासङ्घका पूर्व अध्यक्ष शिव गाउँले, नेपाल प्रेस युनियका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, क्रान्तिकारी पत्रकार महासङ्घका प्रतिनिधि विष्णु सापकोटालगायतले सहमतिमै संविधान आउनुपर्ने र सबैको भावना र हकअधिकारको संरक्षण हुने खालको हुनुपर्ने विचार राख्नुभएको थियो ।

    महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले निर्धारित मितिमै विवेकशील तरिकाले राज्यलाई बलियो बनाउने खालका संविधान सहमतिमा निर्धारित मितिमै जारी गर्नुपर्नेमा जोड दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना