• ६ चैत २०८०, मङ्गलबार

सडक बनाउन हेलिकप्टरमार्फत मेसिन ढुवानी :छाङरुमा नेपाली सेनाको क्याम्प राखिने

blog

लोकेन्द्र जोशी

दार्चुला, वैशाख १० गते । दार्चुला–टिङ्कर सडक निर्माणमा प्रयोग गरिने ठूला मेसिन (हेभी इक्विपमेन्ट) नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिरहेको छ । बुधबार दार्चुला आएको हेलिकप्टरले व्यास गाउँपालिकाको सदरमुकाम सुन्सेराबाट व्यास गाउँपालिका–२, दुम्लिङसम्म मेसिन ओसार्ने काम गरिरहेको हो ।

सडक बाटो नभएपछि हेलिकप्टरले स्काभेटर, ब्याकहोलोडर, कम्प्रेसरका पार्ट ढुवानी गरिरहेको छ ।मेसिनका स–साना पार्टभित्र राखेर ओसारिरहेको छ भने ठूला पार्ट झुन्ड्याएर ल्याउने गरेको छ । निर्माण सामग्री ढुवानी गर्नुअघि बिहीबार सुरक्षा अधिकारीले सडकको हवाई निरीक्षण गरेका थिए । 

नेपाली सेनाले निर्माण गरिरहेको सडकको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नेपाली सेनाका प्राविधिक महासेनानी इन्दिवर गुरुङ, विकास निर्माण कार्यदल, २ नम्बर गण दार्चुलाका गणपति रमेश गुरुङ, सशस्त्र प्रहरी बल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका गणपति त्रिभुवन विष्ट, राष्ट्रिय अनुसन्धान अधिकृत महेशप्रसाद अवस्थी, गुरु गोरख गुल्मका गुल्मपति कृष्णचन्द्र ठकुल्ला, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्र विष्टलगायतको टोलीले स्थलगत अनुगमन गरेको हो । नेपाल सरकारले दार्चुला–टिङ्कर सडकखण्डअन्तर्गत व्यास गाउँपालिकाको कोठेधारदेखि टिङ्करसम्मको ७३.२ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । 

नेपाली सेनाले अहिले पाँच ठाउँबाट सडक निर्माणको काम गरिरहेको जनाएको छ । 

व्यास गाउँपालिकाको तल्लो दुम्लिङ, फुलचिम, कोठेधार र मालबाट सडक निर्माणको काम गरिरहेको नेपाली सेनाका विकास निर्माण कार्यदल २ नम्बर गण दार्चुलाका गणपति रमेश गुरुङले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्ष २०७८÷०७९ मा सात किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएको नेपाली सेनाले अहिलेसम्म तीन किलोमिटर सडक निर्माण गरिसकेको जनाइएको छ । सडक निर्माणका लागि चालू आर्थिक वर्षमा सेनालाई २२ करोड ५० लाख रुपियाँ बजेट प्राप्त भएको छ । 

क्याम्प राख्ने तयारी

दार्चुला–टिङ्कर सडक निर्माणका लागि नेपाली सेनाले व्यास गाउँपालिका–१, छाङरुमा क्याम्प राख्ने तयारी गरेको छ । व्यास गाउँपालिका–२, कोठेधारमा सडक निर्माण भइरहेको र माथिबाट पनि सडक निर्माण गर्न छाङरुमा सेनाको क्याम्प स्थापना हुन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । 

क्याम्प स्थापना हुने ठाउँको नेपाली सेना र जिल्ला सुरक्षा समितिले हेलिकप्टरमार्फत छाङरु पुगेर अनुगमन गरेको छ । साथै सेनाले निर्माण गरिरहेको सडकसमेत हवाई अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । नेपाली सेनाले दार्चुला–टिङ्कर सडक निर्माणका लागि गत आर्थिक वर्षमा नै सुन्सेरा र दुम्लिङमा क्याम्प स्थापना गरेको थियो । केपी ओली नेतृत्वको सरकारले कोठेधारदेखि टिङ्करसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । वर्तमान सरकारले तुसरपानीदेखि कोठेधारसम्म थप चार किलोमिटर सडक निर्माणको जिम्मा पनि सेनालाई दिएको छ । कोठेधार–टिङ्कर सडकको नयाँ डीपीआर तयार गरेर नेपाली सेनाले सडक निर्माण गरिहेको छ । 

सरकारले सेनालाई जिम्मा दिँदा ८७ किलोमिटर डिपिआरको कोठेधार–टिङ्कर सडकको जिम्मा दिएको भए पनि सेनाले घुम्ती घटाएर तथा कुनै ठाउँमा मार्ग परिवर्तन गरेर कोठेधारदेखि टिङ्करसम्म ७४ किलोमिटरको नयाँ डीपीआर तयार गरेर सडक निर्माण गरिरहेको छ । 

तुसरपानीको फतङगाडबाट सेनाले सडक निर्माण गर्ने भएकाले व्यास गाउँपालिका–३, तुसरपानीमा वर्षात्का कारण अवरुद्ध भएको सडक मर्मत गरिँदै छ । सडक अवरुद्ध हुँदा नेपाली सेनालाई फतङगाडसम्म निर्माण क्षेत्रमा सामग्री ढुवानी गर्न समस्या भइरहेकाले दार्चुला–टिङ्कर सडक आयोजनाले सडक सफा गर्ने काम गरिरहेको छ । तुसरपानी गाउँको तल्लो क्षेत्रमा स्थानीयले पहिरो खसेको भन्दै सडक खुलाउन विवाद गरेपछि रिठिङगाड नदीको मार्ग भएर सडक खुलाउने काम भइरहेको बताइएको छ ।