• ६ चैत २०८०, मङ्गलबार

प्रेस काउन्सिलद्वारा आचारसंहिता उल्लङ्घन गर्ने मिडियाको निगरानी

blog

लक्की चौधरी

काठमाडौं, वैशाख ५ गते । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई स्पष्टीकरण सोध्दै पुनः त्यस्तो गल्ती नगर्न सचेत गराएको छ । देशभरका मिडियाले आचारसंहिता उल्लङ्घन नगरून् भनेर काउन्सिलले निरन्तर निगरानी गरिरहेको जनाएको छ । 

गत शनिबार जनकपुरमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राख्नुभएको धारणालाई तोडमोड गरी समाचार सम्प्रेषण गरेकोभन्दै काउन्सिल नेपालले स्थानीय इ–जनकपुर टुडे डट कमलाई आइतबार स्पष्टीकरण सोधेको छ । काउन्सिल नेपालका उपप्रशाकीय अधिकृत रामशरण बोहराकाअनुसार सो मिडियाले ‘प्रमुख निर्वाचन आयुक्त नै चुनाव विरोधी अभियानमा’ शीर्षक राखी समाचार सम्प्रेषण गरेको थियो ।

 प्रमुख आयुक्तले राख्नुभएको धारणालाई गलत अर्थ लाग्नेगरी समाचार बनाएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको बोहराले बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘निर्धारित मितिमै निर्वाचन हुन्छ, निर्वाचन धकेलियो भने मुलुक दुर्घटनामा फस्न सक्छ’ धारणा राख्नुभएको थियो । सो मिडियाले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएमा कानुनअनुसार कारवाही गरिने काउन्सिल नेपालले जनाएको छ । 

त्यस्तै, काउन्सिल नेपालले दैनिकी डट कमलाई शुक्रबार एक पत्र लेखी आचारसंहिता उल्लङ्घन नगर्न निर्देश गरेको छ । काउन्सिलको अनुगमन अधिकृत सुरेन्द्र मल्लले सो मिडियालाई पत्र लेखी आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको हो । ‘लाज पचेकाहरुले गठबन्धन गर्ने भन्दै जनतालाई भेँडा नबन्न पशुपति शर्माको आग्रह’ शीर्षकको समाचार सो मिडियाले सम्प्रेषण गरेको थियो । 

सोहीअनुसार प्रेस काउन्सिल नेपालले गत शुक्रबार हिमालय टेलिभिजनलाई पनि आचारसंहिता उल्लङ्घन नगर्न भन्दै सजग गराएको छ । अनुगमन अधिकृत मल्लले सो मिडियालाई पत्र पठाउनुहुँदै आचारसंहिता कार्यान्वयनमा सजग गराएको हो । सो टेलिभिजनले ‘प्रधानमन्त्री देउवाका ज्योतिषीको भविष्यबाणी ः स्थानीय तह निर्वाचन सर्छ, देउवा झन शक्तिशाली’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । पुनः त्यस्तो त्रुटी नगर्न नगराउन काउन्सिलले सचेत गराएको अधिकृत मल्लले बताउनुभयो ।

त्यस्तै, सोही दिन शुक्रबार काउन्सिलले प्राइम टाइम्स टेलिभिजनलाई पनि आचारसंहिता उल्लङ्घन भएकोप्रति सचेत गराएको छ । सो टेलिभिजनले ‘स्थानीय तहको चुनाव नहुने, देउवाले लोकतन्त्र समाप्त पार्ने, ओली संकटमा पर्ने’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । काउन्सिलका अनुगमन अधिकृत मल्लले सो टेलिभिजनलाई पत्र लेख्नुहुँदै आगामी दिनमा आचारसंहिता कार्यान्वयनमा सजग रहन निर्देश गर्नुभएको छ । 

सोहीअनुसार शुक्रबार नै काउन्सिल नेपालले सूत्र न्यूज डट कमलाई एक पत्र लेख्दै आचारसंहिता उल्लङ्घन नगर्न सचेत गराएको छ । सो मिडियाले ‘वैशाख ३० मा स्थानीय चुनाव हुँदैन, समय लाग्छः माधव नेपाल’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो ।  सो समाचारले काउन्सिलको ध्यानाकर्षण भएको र पुनः त्यस्तो त्रुटी नगर्न नगराउन सो मिडियालाई निर्देश गरिएको अनुगमन अधिकृत मल्ले जानकारी दिनुभयो । 

काउन्सिलले निर्वाचन आचारसंहिता कार्यान्वयनमा मिडिया सचेत हुनुपर्ने र निर्वाचनलाई सफल पार्न मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने सन्देश दिन आफूहरु निरन्तर अनगुमन गरिरहेको उपप्रशासकीय अधिकृत बोहराले बताउनुभयो । उहाँकाअनुसार प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लङ्घन गरे नगरेकोबारे नियमित मिडियाको अनुगमन गरिरहेको छ ।