• ६ चैत २०८०, मङ्गलबार

सार्वजनिक अस्पतालका शौचालय

बस्न हैन,पस्नै गाह्रो

blog

सरोज ढुङ्गेल

काठमाडौँ, वैशाख ४ गते । वीर अस्पतालको आकस्मिक कक्षपछाडिको शौचालयमा शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ, पस्नै कठिन छ । जसोतसो भित्र पसे शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब फेर्ने प्यानमै खैनी, परागजस्ता पदार्थ खाएर थुकेको हुन्छ । शौचालयको एउटा ढोका कुहिएको छ, अर्को खुलै रहन्छ ।

दिसा गर्ने प्यानको माथितिर फोहोरै फोहोर हुन्छ । शौचालयभित्रै पानीका बोतल, कपडाजस्ता वस्तु धेरै समयदेखि छन् । शौचालय सफा गर्ने कर्मचारीले त्यता ध्यान दिएको हुँदैन । 

वीर अस्पतालकै एक तलामाथि रहेको अर्को शौचालय पनि त्यस्तै छ । जताततै फोहोरै फोहोर । प्रायः सबै पिसाब नल भरिएका छन् ।  त्यसको सिधा आकस्मिक ल्याब अगाडि भने कर्मचारीका लागि मात्र छुट्टै शौचालय व्यवस्था छ । त्यहाँ सर्वसाधारणलाई शौच गर्न ताल्चा लगाइएको हुन्छ । अस्पतालको कुनै कर्मचारीलाई शौच लागेमा चाबी लिएर आउँछन् र शौच गरेर जान्छन् । सर्वसाधारणले प्रयोग गर्ने शौचालयभन्दा अस्पतालकै कर्मचारी तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने शौचालय भने राम्रो छ । 

वीर अस्पतालमा सरसफाइकर्मी सयजना छन् । अस्पतालले राखेका स्थायी ३५ जना र अरू ठेक्कामार्फत राखिएका हुन् । यति धेरै सरसफाइकर्मी भए पनि शौचालय दुर्गन्धित हुनुमा अस्पतालमा मानिसको चाप अत्यधिक रहेको अस्पतालका पदाधिकारीको भनाइ छ । अस्पतालका शौचालय फोहोर भइरहने विषयमा अस्पताल प्रमुख डा. भूपेन्द्रकुमार बस्नेत सामान्य मान्नुहुन्छ । उहाँका अनुसार दैनिक दुई हजारसम्म ओपीडी टिकट जान्छ । अस्पतालमा भर्ना भएका र पछि फेरि जँचाउन आउने बिरामीले गर्दा दुई हजार पाँच सयभन्दा बढीको आवतजावत हुने अस्पतालमा शौचालय फोहोर हुनु सामान्य हो । डा. बस्नेतले भन्नुभयो, “कतिपय मानिस त शौचालय प्रयोग गर्नै नजान्ने पनि आउँछन् ।” समय–समयमा सफाइ कर्मचारीले सफा गर्ने गरेको जानकारी दिँदै उहाँले मानिसको अत्यधिक चापका कारण शौचालय फोहोर भएको बताउनुभयो ।

 थोरै सङ्ख्यामा बिरामी आउने अस्पताल र दैनिक एक हजार पाँच सयदेखि दुई हजारभन्दा बढी बिरामी आउने अस्पताल सरसफाइमा एउटै हुन सक्दैन । डा. बस्नेतले थप्नुभयो, “वीर अस्पतालमा समय–समयमा सफा गर्दा पनि त्यत्तिकै फोहोर भइरहन्छ ।”

वीर अस्पतालनजिकका स्थान व्यावसायिक रूपमा अगाडि रहेकाले कतिपय व्यवसायी तथा बाटो हिडँ्ने बटुवा पनि अस्पतालभित्रै आएर शौच गर्छन् । कतिपय मानिसले शौचालयको धारो टुटाइदिने, शौचालयभित्रै प्याड हालिदिने, खैनी, सुर्ती खाएर थुकिदिने, कतिपयले गज पनि शौचालयमै हालिदिने हुँदा जाम हुने गरेको डा. बस्नेतको भनाइ छ । 

वीर अस्पतालमात्र होइन, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका शौचालय भने पूरै फोहोर छ । केही महिनाअघिसम्म शिक्षण अस्पतालमा आउने बिरामी तथा कुरुवाबाट अस्पतालले दिसा–पिसाब गरेको शुल्क लिने गरेको थियो । अस्पतालका कार्यकारी निर्देशकका रूपमा डा. दिनेश काफ्ले आइसकेपछि अहिले शिक्षण अस्पतालमा दिसा–पिसाब गरेको शुल्क लाग्दैन । 

धेरै गुनासो आएपछि शुल्क लिने कार्य बन्द गराएको जानकारी दिँदै उहाँले त्रिवि शिक्षण अस्पतालमा शौचालय फोहोर हुनुमा बिरामीको अत्यधिक चापलाई नै लिनुभयो । उहाँका अनुसार कतिपय बिरामी तथा बिरामीका आफन्तले शौच गर्न जान्दैनन् । गाउँबाट सिफारिस भई आएका बिरामी र कुरुवा ट्वाइलेटमा बस्नै नजान्ने हुन्छन् । उनीहरूले पानीले भन्दा माटो तथा कागज, कपडा तथा अन्य पदार्थले दिसा पुछ्ने गरेको पाइयो । शिक्षण अस्पतालमा दैनिक दुई हजार पाँच सयभन्दा बढी ओपीडीमा बिरामी आउँछन् । यस्तै, आकस्मिक कक्षमा पाँच सयभन्दा बढी बिरामी आउँछन् ।