• ६ चैत २०८०, मङ्गलबार

भेरी नदीको पुलबाट खसेर महिला घाइते

blog

जिर्ण बन्दै गएको झोलुङ्गे पुलबाट खसेर घाइते भएकी देवी पुन । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम,  वैशाख, ३ गते । गत बिहीबार मात्र उक्त झोलुङ्गे पुलबाट खसेर एक महिला घाइते हुनुभएको छ । जाजरकोटको भेरी नगरपालिका २ रिसाङकी ५२ वर्षीया देवि पुन पुलबाट खसेर घाइते हुनुभएको हो ।

चौरजहारीबाट किनमेल गरेर घर फर्कने क्रममा जिर्ण अवस्थामा रहेको पुलबाट खसेर घाइते भएको उहाँका छोरा प्रेमबहादुर पुनले जानकारी दिनुभयो । उहाँको ढाडको करङ र दुबै खुट्टा भाचिएको बताईएको उहाँले बताउनुभयो । घाइते पुनको अहिले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको बताईएको छ । कच्ची पुलमा राखिएको फल्याक झरेपछि उहाँ पुलबाट खसेर नदि किनारमा खसेर घाइते हुनुभएको थियो ।  

भेरी नदीको झोलुङ्गे पुल जीर्ण

रुकुम पश्चिम र जाजरकोट जोड्ने झोलुङ्गे पुल वर्षौ देखि जीर्ण अवस्थामा रहेको छ । बाइसे चौबिसे राज्यकालताका भेरी नदीमाथि बनाइएको मटेलाको झोलुङ्गे पुल जीर्ण बनेपछि पुलबाट वारपार गर्ने विद्यार्थी र सर्वसाधारणलाई समस्या हुने गरेको छ ।  

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ र जाजरकोटको भेरी नगरपालिका–११ मटेलाबीचको भेरी नदीमा रहेको यस पुलमा यात्रा गर्न जोखिम रहेको स्थानीयको भनाई छ । चौरजहारी नगरपालिका– ३ का तेजबहादुर बटालाले पुलबाट आउजाउ गर्न नै त्रास हुने गरेकोले यसको तत्काल मर्मत जरुरी रहेको बताउँनुभयो । 

अहिले झोलुङ्गे पुलको ठाउँ–ठाउँमा भत्किएका छन् भने वरिपरि रहेका तार, जालीहरू फुत्किँदै गएका छन् । पुलका विभिन्न भागमा रहेका नट बोल्टहरू समेत झरेका छन् । भेरी नगरपालिका- ११ कि विष्णु गिरी पढ्न भनेर विद्यालय जाने विद्यार्थीहरू डराइ-डराइ पुल तर्ने गरेको बताउँनुहुन्छ । उहाँले पुलबाट बच्चाबच्ची खस्लान् कि भन्ने पीर लाग्ने गरेको दुखेसो पोख्नुभयो । स्थानीय टोपेन्द्र विश्वकर्माले वर्षौसम्म उचित मर्मत नभएको र कसैले पनि संरक्षणतर्फ ध्यान नदिएकाले पुल जीर्ण बन्दै गएको बताउँनुभयो । 

रानीको आग्रहमा बनेको पुल

९० मिटर लम्बाइ रहेको त्यस पुलको छुट्टै इतिहास रहेको भेरी नगरपालिका–११ का सन्देश शर्माले बताउँनुभयो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेको यस पुल जाजरकोटी राजाकी छोरी तथा चन्द्रशमशेरकी कान्छी रानी बालकुमारी शाहले आफ्नो माइतीहरूलाई भेरी नदी वारपार गर्ने सुविधाका लागि निर्माण गरिदिन आग्रह गरेपछि यो पुल बनेको बताइन्छ ।

जाजरकोटकी छोरी बालकुमारीले चन्द्रशमशेरसँग बिहे गरेर गएपछि आफ्ना माइती अर्थात् जाजरकोटवासीलाई रुकुमको चौरजहारी तथा नेपालगञ्ज आवागमन गर्न निकै कष्ट भएपछि भेरी नदीमा पुल जरुरी रहेको भनेर राणा दरबारमा आग्रह गरेपछि पुल निर्माण भएको अग्रजहरुको भनाई छ ।