• ६ चैत २०८०, मङ्गलबार

परिणाम देखिने गरी काम गर्न निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा सहभागी सबै राजनीतिक दललाई एकताबद्ध बनाएर चुनावमा केन्द्रित गर्न अधिकतम पहल गर्ने बताउनुभएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पूर्वस्थायी समितिका उपलब्ध सदस्यहरू र प्रदेश इन्चार्जहरूको अनौपचारिक बैठकमा उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा परिणाम देखिने गरेर काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । 

माओवादीका प्रवक्ता कृष्णबहादुर महराले शुक्रबारको बैठक तथा पार्टी प्रवेशको सन्दर्भमा जारी गर्नुभएको विज्ञप्तिमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहभागी सबै राजनीतिक दललाई एकताबद्ध बनाएर चुनावमा केन्द्रित गर्न पार्टीका तर्फबाट अधिकतम पहल गर्ने उल्लेख छ ।  प्रचण्डले माओवादीप्रति आकर्षण बढेको र पार्टी प्रवेशको जनलहर छाएको बताउँदै पार्टी प्रवेश गर्ने सबैको राजनीतिक पृष्ठभूमि र योगदानको मूल्याङ्कन गरी उचित भूमिका दिने सम्बन्धमा आवश्यक मापदण्ड बनाउने निर्णय भएको जानकारी दिनुभयो । 

शुक्रबार भएको कार्यक्रममा नुवाकोट र रौतहट जिल्ला तथा मधेस प्रदेशबाट विभिन्न पार्टी परित्याग गरी सात सय जना नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका  बताइएको छ ।