• ६ चैत २०८०, मङ्गलबार

ट्रकसँग बंगुर फर्म साटेका मस्तबहादुरको मस्त कमाई

blog

गोकर्ण पौडेल

तुलसिपुर, वैशाख १ गते । लाखौ रुपियाँ पर्ने ट्रकसँग बंगुर फर्म साट्दा अचम्मजस्तो लाग्छ मस्तबहादुरलाई । तुलसीपुर उपमहानगरपालिका १९ का घर्तीमगरले ट्रकसँग बंगुर फर्म साटेर सन्तुष्ट हुनुभएको छ । 

पछिल्लो समय दिनहुँ बढिरहने पेट्रोलियम पदार्थको मूल््यबृद्धि मासिकरुपमा बैंकमा बुझाउनु पर्ने किस्ता र ब्याजले हैरानी बेहोरिरहेका मस्तबहादुरले चलाइरहेको ट्रकसँग बंगुर फर्म साटेपछि भने अहिले राम्रो कमाई गर्नुभएको छ । मेहनतअनुसारको कमाई हुँदा उहाँ सन्तुष्ट रहेको बताउनुहुन्छ । तुलसिपुर उपमहानगरपालिका १९ पीपलडाँडामा रहेको उहाँको न्यू लालीगुँरास बंगुर फर्ममा अहिले माउ, सुंगुरको भाले र पाठापाठी गरी ८० भन्दा बढी बंगुर रहेका छन् ।

मस्तबहादुरले भन्नुभयो, “आफूसँग ट्रक चलाउने सीप थिएन, सवारीसाधन भएर के गर्ने ? जे सीप, क्षमता छ त्यही गरौं भनेर ट्रकसँग बंगुर फर्म साटेको हुँ ।” ट्रकसँग साट्दा उहाँसँग त्योबेला फर्ममा  १४ माउ, विर, पाठापाठी थिए । अहिले ६५ वटाभन्दा बढी पाठापाठी छन् । पाँच वर्ष पहिले डेढ लाख रुपियाँको लगानीबाट शुरु गरिएको फर्ममा अहिले सातलाख बढी लगानी भएको उहाँले बताउनुभयो । 

मलेसिया चार वर्ष र साउदीमा तीन वर्ष रोजगारीको सिलसिलामा समय बिताउनुभएका मस्तलाई अहिले यहीको काम र श्रमको मूल्य प्यारो लाग्न थालेको छ । उहाँले भन्नुभयो, “त्यहाँ अर्काको देश बिरामी पर्दा पनि काम गर्नैपथ्र्यो, मासिक ७० हजार रुपियाँभन्दा यहाँको पचास हजार रुपियाँको आम्दानी मलाई लाख रुपियाँ कमाएजस्तै भएको छ ।” 

यो व्यवसायमा घरपरिवार सबैको सहयोग मिलेको उहाँले बताउनुभयो । सबै मिलेर जहान परिवारसँग काम गर्न पाइएकाले खुशी र सन्तुष्ट छुँ घर्तीमगरले भन्नुभयो । अहिले आफ्नै गाउँघरमा व्यवसाय गरेर सबै कटाएर वार्षिक ६ लाखसम्म आम्दानी भइरहेको घर्तीमगरले बताउनुभयो । 

एउटा पोथीले वर्षमा १६ वटासम्म बच्चा जन्माउनेगरेको र एक पाठापाठीको मूल्य ४५ सयदेखि पाँच हजार रुपियाँमा बिक्री गर्दैआएको उहाँले बताउनुभयो ।  मासुभन्दा पाठापाठी बेचेरै बढी आम्दानी हुनेगरेको उहाँले बताउनुभयो । घरमै दाना पिसाउनका लागि मिल राखेको उहाँले बताउनुभयो । “बजारबाट किन्दा महङ्गो पर्ने भएकाले घरमै व्यवस्थापन गरेको छुँ” उहाँले भन्नुभयो । 

राज्यबाट खोर सुधारका लागि सहयोग हुँदैआएको उहाँको भनाई छ । खोर सुधार कार्यक्रमअन्तर्गत गत वर्ष भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र घोराहीले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । ट्रकसँग बंगुर फर्म साट्दा शुरुमा केही मानिसले गिज्याउने गरेको भएपनि आफूले राम्रो गरेको अहिले आभास भएको घर्ती मगरले बताउनुभयो ।