• ६ चैत २०८०, मङ्गलबार

तिर्खा मेट्दै मेलम्ची

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १ गते ।  पूर्वाधार निर्माणमा लामो अवधि लिएको मेलम्ची खानेपानी आयोजना गएको साल बल्लतल्ल सफल त भयो तर टिकाउ भने हुनसकेन । २०७७ चैतमा उद्घाटन भएको झन्डै तीन महिनामै गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा आएको भीषण बाढीले आयोजना तहसनहस बनायो । 

तर १० महिनापछि मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा आएको छ । नयाँ वर्ष २०७९ को सुरुतिरै काठमाडौँवासीको मेलम्चीको तिर्खा मेटिँदै छ । मेलम्ची आयोजना मर्मत गरी काठमाडौँ उपत्यकामा पानी ल्याउने योजना सरकारको उच्च प्राथमिकतामा परेको छ । सोहीअनुसार मङ्गलबार मेलम्ची खोलाको पानी सुरुङमार्गमा पथान्तरण गरिसकिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले गत माघ ७ गते राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा र सरकारले प्रस्तुत गरेको चालू आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र पुनः सञ्चालन गर्ने घोषणा गरिएको थियो । मङ्गलबार मेलम्ची खानेपानीको मुख्यद्वार (वफर जोन)बाट पानी पथान्तरण गरिएसँगै २७ किलोमिटर सुरुङमार्गमार्फत पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाइएको छ । दैनिक १७ करोड लिटर पानी सङ्कलन हुनेछ र प्रशोधन केन्द्रमा आइपुग्न केही दिन लाग्ने छ । मेलम्चीको कथा पाँच दशक पहिलेको भए पनि त्यसलाई आकार दिने सपनाचाहिँ झन्डै तीन दशक अघिको नेपाली काँग्रेसका सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको हो ।