• १२ वैशाख २०८१, बुधबार

सडकले फेरिदियो जीवन

blog

दोलखा समाचारदाता

चरीकोट, चैत ३० गते । कुनै बेला दुर्गम मानिने दोलखाको मेलुङ गाउँपालिका–५, डाँडाखर्कको पाखेडाँडा क्षेत्रका गाउँ अहिले सुगम बनेका छन् । भौगोलिक बनावटका हिसाबले अति दुर्गम पाखेडाँडामा सडक सञ्जाल जोडिएपछि यो बस्ती सुगम बनेको हो । सडक सञ्जालसंँग जोडिएर यातायात सञ्चालनमा आएपछि स्थानीयले विकास र सुविधा दुवैको अनुभूति गर्न पाएकामा हर्षित बनेका स्थानीय ठाकुरदास श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पालिकाकै दुर्गम पाखेडाँडामा गाउँपालिकाले विकास र सुविधाको अनुभूति गराएको छ । दुर्गम क्षेत्र भएकै कारण कसैको नजर नपरेको यो ठाउँमा अहिले गाउँपालिकाको पहलमा विकासको पूर्वाधार मानिने सडक सञ्जालले जोडिएपछि यो गाउँमा बस सेवासमेत सुरु भएको छ । गाउँमा नै सामान्य पसल र होटल सञ्चालन भएका छन् । स्थानीयवासी बिरामी हुँदा बोकाएर तीन घण्टा लगाएर डाँडाखर्क स्वास्थ्य संस्थासम्म पु-याउनुपर्ने बाध्यता हटेको छ ।

देशमा लोकतन्त्र र गणतन्त्र आएको महसुस भएको छ । सडककै कारण स्थानीयको जीवनशैली मात्र फेरिएको छैन हरेक कुरामा सहज भएको छ । अर्का स्थानीय पदमबहादुर श्रेष्ठले खुसी व्यक्त गर्दै भन्नुभयो, “गाउँगाउँमा यातायातका साधन गुड्न थालेपछि स्थानीय जीवन सहज भएको छ । गाउँको मुहार पनि फेरिएको छ । ” पिछडिएका थामी, मगर र श्रेष्ठ समुदायका नागरिकको बसोबास रहेको यो बस्तीमा स्थानीय तहको निर्वाचन भएको दुई वर्षपछि २०७६ सालमा पहिलो पटक सडक पु-याइएको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो ।