• ६ चैत २०८०, मङ्गलबार

राष्ट्रपतिबाट निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

blog

काठमाडौं, चैत २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत हुनुहुन्छ ।

‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालन गरिएको हो ।

सुरक्षा योजनामा नेपाल प्रहरीको मातहत म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेरा रहने छ । स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालनको स्वीकृति प्रदान गरिएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७८/१२/१७ को सिफारिस, मन्त्रिपरिषद्को मिति २०७८/१२/२४ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०७८/१२/२४ को सिफारिस बमोजिम सम्वत् २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम मिति २०७८/१२/२९ मा स्वीकृति प्रदान गर्नुभएको छ ।’’