• ७ वैशाख २०८१, शुक्रबार

जुर्मुराउँदै पर्यटन

blog

सिबी अधिकारी/अच्युत रेग्मी

काठमाडौँ, चैत २८ गते । वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । त्यसैले हजारौँ सङ्ख्याका विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन् ।कोभिड–१९ कहरपछि बिस्तारै लयमा फर्किंदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०२२ को सुरुवाती चरणमा विदेशी पर्यटक आगमन पनि क्रमिक रूपमा बढिरहेको छ । पर्यटकीय गतिविधि पनि बढेको छ । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न स्वदेशी तथा विदेशी पर्वतारोही धमाधम गन्तव्यतिर निस्किएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार सगरमाथामा २३ सहित विभिन्न ६१ हिमाल आरोहणका लागि ५०० भन्दा बढी आरोहीले आरोहणको अनुमति लिएका छन् ।

ठमेलका होटल भरिभराउ
काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका होटल यतिखेर आन्तरिक तथा विदेशी पर्यटकले भरिन थालेका छन् । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका होटल पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटक आउन थालेसँगै ठमेल क्षेत्रका पनि व्यवसायी पनि उत्साहित छन् । काठमाडौँ महानगरपालिका–१६,ठमेलमा सञ्चालित चारतारे होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुँयालले होटलमा विदेशी पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । “९० कोठा रहेको रमदा होटलमा ७० भन्दा बढी कोठा दैनिक भरिँदै आएको छ । यसले हामीमा उत्साह थपेको छ,” फुँयालले भन्नुभयो । यो होटलमा हाल अमेरिकी, भारतीय र युरोपेली पर्यटक धेरै रहेको उहाँले जानकारी दिनुभयो । ठमेलकै यात्री होटलका सञ्चालक एवं टानका पूर्वउपाध्यक्ष नीलहरि बास्तोलाले पर्यटन क्षेत्रमा सकारात्मक लक्षण देखिएको बताउनुभयो । “कोरोनासँगै ध्वस्त भएको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकारले विभिन्न देशका राजदूत र वाणिज्यदूतलाई राखेर नेपाल खुला भएको सन्देश दिनु जरुरी छ,” उहाँले भन्नुभयो ।

काठमाडौँको सोह्रखुट्टेमा सञ्चालित निवास बुटिकका सञ्चालक सुदर्शन नेपालले चिनियाँबाहेक अन्य देशका पर्यटकको सङ्ख्यामा वृद्धि भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालमा कोरोना छैन, पीसीआर चाहिँदैन भन्ने सन्देश आमपर्यटकलाई दिनसके पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने थियो । ”

पर्यटक आगमन निरन्तर बढ्दै
नेपाल पर्यटन बोर्डका अधिकृत कवीन्द्र भट्टले मार्चमा मात्र हवाई मार्ग भएर ४२ हजार छ जना विदेशी पर्यटक नेपाल भित्रिएको जानकारी दिनुभयो । सन् २०२२ को जनवरीदेखि मार्चसम्म ७८ हजार ७४७ विदेशी पर्यटक नेपाल भित्रिएको उहाँले बताउनुभयो । “सन् २०१९ को मार्चको तुलनामा यस वर्षको मार्चमा धेरै भारतीय पर्यटक भित्रिएका छन्, यो लागि सुखद् कुरा हो,” उहाँले भन्नुभयो ।

मार्चमा हवाई मार्ग भएर कुल ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए । वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गरेर बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गर्दा नेपाल आउने भारतीय र बङ्गलादेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । “लामो समयदेखि कोरोनाले थलिएको नेपालको पर्यटन क्षेत्रले बिस्तारै गति लिँदै गएको छ,” उहाँले भन्नुभयो ।
विदेशी मुद्राआर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आगमनको यो सुधारले पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा मिलेको उहाँको भनाइ छ । प्रमुख रेग्मीले विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई सहज रूपमा भित्रिने वातावरण सरकारले निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

लयमा फर्कंदै
होटल व्यवसायीको छाता सङ्गठन होटल सङ्घ नेपालले कोभिडपछि बिस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किंदै गरेको जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष विनायक शाहले दुई वर्षको उकुसमुकुपछि पर्यटन बिस्तारै जुर्मुराउँदै गएको बताउनुभयो ।
पछिल्ला दिनमा पर्यटन क्षेत्रमा देखिएको गतिविधिले नेपालको पर्यटन सुरक्षित रहेको र पाहुनाको पर्खाइमा रहेको सन्देश दिइरहेको छ । आगामी सिजनका लागि होटलमा राम्रो ‘इन्क्वाइरी’ आइरहेकाले पनि व्यवसायीलाई उत्साहित बनाएको उहाँको भनाइ छ । कार्यवाहक अध्यक्ष शाहले पर्यटक आगमन बढाउन एक महिना निःशुल्क भिसालगायतका प्याकेज घोषणा गर्नसकिए आउने दिन पर्यटनका लागि सुखद रहने उल्लेख गर्नुभयो ।
पोखराका होटल व्यवसायी भरतराज पराजुलीले पोखरामा पर्यटकीय गतिविधि बढेकाले व्यवसायी उत्साहित भएको बताउनुभयो । उहाँले पोखरा वरिपरिका साहसिक पर्यटकीय गन्तव्यको विकास प्रवद्र्धनले देशको पर्यटनमा बहार छाएको बताउनुभयो ।