• १३ वैशाख २०८१, बिहिबार

पर्यटकको सहजताका लागि सडक बत्ती

blog

सन्तोष राउत
सोलुखुम्बु, चैत २९ गते । सोलुखुम्बुको व्यस्त पर्यटकीय बजार नाम्चेमा सडक बत्ती जडान कार्य सुरु भएको छ । सगरमाथाको प्रवेशद्वार नाम्चेमा पर्यटकहरुको सहजता तथा रातिको समयमा सडकमा हुने कुकुरको आक्रमणबाट पर्यटकहरुलाई बचाउन सडक बत्ती जडान गर्न थालिएकोे खुम्बु पासाङल्हामु गाउँपालिका–५ का वडा अध्यक्ष छिरिङ पेन्जो शेर्पाले जानकारी दिनुभयो ।

रातिको समयमा पर्यटकहरुलाई हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले बजार क्षेत्रको ६५ ठाउँमा बत्ति जडान कार्य सुरु भएको उहाँले बताउनुभयोे । उक्त सडक बत्ती दिनको समयमा आफैँ बन्द हुने र रातको समयमा आफैँ बल्ने प्रविधिको रहेको वडा कार्यालयले जनाएको छ ।

चैत्र १८ गतेबाट सुरु भएको जडान कार्य केहीँ दिनमा सकिने गरी काम भइरहेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो । बत्ती जडानका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ मा १५ लाख रुपियाँ रकम विनियोजन गरेको थियो । सडक बत्ती प्रयोग गर्दा लाग्ने विद्युत महसुल वडा कार्यालयले तिर्ने गरी सम्झौता भएको बताइएको छ । बजारक्षेत्रको बाटोमा बत्ति बालेपछि घुमफिरमा सहज हुन पर्यटन व्यवसायीहरुले बताएका छन् ।