शतप्रतिशत नेपालीमा दूरसञ्चार सेवाको पहुँच


काठमाडौं, साउन १३ गते । शतप्रतिशत नेपाली दूुरसञ्चार सेवाको पहुँचमा पुगेका छन् ।
दूरसञ्चार क्षेत्रको नियमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मङ्गलबार सार्वजनिक गरेको ‘म्यानेजमेण्ट इन्फर्मेसन सिष्टम(एमआईएस)’ प्रतिवेदन अनुसार सबै जनता दूरसञ्चारको पहुँचमा पुगेको उल्लेख छ । योसँगै शतप्रतिशत जनता पहुँच पुगेका सेवामध्ये दूरसञ्चार क्षेत्र पहिलो बनेको छ । प्राधिकरणले २०६८ सालको जनगणनालाई आधार मानेर दूरसञ्चार पहुँचको तथ्याङ्क सार्वजनिक गरेको हो ।
प्रतिवेदन अनुसार ९० प्रतिशत जनतामा मोबाइल सेवाको पहुँच पुगेको छ । सेवा सञ्चालन भएको डेढ दशकमै मोबाइल सेवाको व्यापकता बढेसँगै दूरसञ्चार पहुँच विस्तारले गति लिएको हो । मोबाइल सेवालाई प्राथमिकतामा राख्दै दूरसञ्चार सेवा प्रदायकबीच बढेको प्रतिस्पर्धाले पनि पहुँच बढाउन सहयोग गरेको हो । अहिले नेपालमा छ ओटा दूरसञ्चार सेवा प्रदायक छन् । त्यसमध्ये नेपाल टेलिकम र एनसेलले देशभर आफ्नो सेवा विस्तार गरिसकेका छन् भने बाँकी चारओटाले क्षेत्रीय रूपमा मात्र सेवा प्रदान गर्दै आएका छन् । यसमध्ये युनाइटेड टेलिकम(युटीएल) र स्मार्ट टेलिकमले देशभर सेवा सञ्चालन गर्न पाउने एकिकृत लाइसेन्स प्राप्त गरेपनि सेवा भने विस्तार गर्न सकेका छैनन् ।
प्राधिकरणका अनुसार नेपाल टेलिकमले उपलब्ध गराएको मोबाइल सेवा(जीएसएम र सीडीएमए)को पहुँच करिब एक करोड १७ लाख जनतामा पुगिसकेको छ । त्यस्तै जीएसएम मोबाइल सेवा उपलब्ध गराउँदै आएको एनसेल प्रयोगकर्ता एक करोड २२ लाख पुगेका छन् । नेपाल टेलिकमले नै उपलब्ध गराएको फिक्स्ड टेलिफोन प्रयोगकर्ता करिब आठ लाख पुगेका छन् ।
सेवा पहुँचका हिसाबले स्मार्ट टेलिकम तेस्रो स्थानमा छ । स्मार्टका करिब १३ लाख सेवा प्रयोगकर्ता छन् । त्यस्तै यूटीएल प्रयोग गर्नेको सङ्ख्या चार लाख ७४ हजार छ । यी दुवैले एलएमएसमा आधारित दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएका छन् । मध्यपश्चिम र पश्चिमाञ्चल क्षेत्रमा आफ्नो सेवा दिदैं आएको नेपाल स्याटेलाइट टेलिकम(हेल्लो नेपाल)का ग्राहक पनि तीन लाखको हाराहारीमा छन् । एसटीएम टेलिकम सञ्चारको भने पछिल्लो ग्राहक सङ्ख्या अद्यावधिक भएको छैन ।
विभिन्न किसिमका दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको नेपाल टेलिकम बजार हिस्साको हिसाबले सबैभन्दा अघि छ । पहुँचका हिसाबले मोबाइल सेवा पछि एलएमएस र जीएमपीसीएस सेवा प्रयोग गर्नेको सङ्ख्या ७.८१ प्रतिशत छ । त्यस्तै ल्याण्डलाइनसहितको फिक्स्ड दूरसञ्चार सेवा प्रयोग गर्नेको सङ्ख्या कुल जनसङ्ख्याको ३.१८ प्रतिशत पुगेको छ । प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा दूरसञ्चार पहुँच १०१.४० प्रतिशतमा पुगेको छ । एउटै प्रयोगकर्ताले एउटै सेवा प्रदायकको धेरै सेवा लिने र त्यसको गणना पनि छुट्टै व्यक्तिका रूपमा राखिने भएकोले पहुँच बढी देखिएको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना