• १६ चैत २०८०, शुक्रबार

खोप लाउने मानिस नहुँदा खेर जान थाल्याे

blog

काठमाडौँ, चैत २४ गते । केही समय पहिलेसम्म कोरोनाविरुद्धको खोप लगाउन तँछाड मछाड हुन्थ्यो । भीड नियन्त्रण गर्न खोप केन्द्रमा प्रहरी नै खटाइनुपथ्र्यो । खोप लगाउनकै लागि ठूलो पहुँच पनि चाहिन्थ्यो तर अहिले अवस्था परिवर्तन भएको छ । खोप लगाउने मानिस नहुँदा धेरै मात्रामा खोप खेर जान थालेको छ ।

काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले पछिल्लो समय खोप लगाउन मानिस नआउँदा खोप खेर जान थालेको बताउनुभयो । विशेष गरी भण्डारणको व्यवस्थाका कारण मोडर्ना खोप धेरै खेर गएको उहाँले बताउनुभयो । तीन हजार मात्रा खोप मानिसले लगाउन नआउँदा खेर गएको बताउनुभयो । स्वास्थ्य कार्यालय प्रमुख अधिकारीले पछिल्लो समय मानिस खोप लगाउनै नआएको बताउनुभयो ।

मोर्डना खोप माइनस २५ डिग्रीमा राख्नुपर्ने हुन्छ । उक्त खोप माइनस २५ डिग्रीबाट निकालिसकेपछि माइनस दुईदेखि आठ डिग्रीमा राखेर एक महिनाभित्र लगाउनुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार देशभर १० हजार मात्रा मोडर्ना खोप खेर गएको छ । त्यसमध्ये काठमाडौँ उपत्यकामा मात्र तीन हजार मात्रा मोर्डना खोप खेर गएको छ ।

यो खोप माइनस २५ डिग्रीको भण्डारणबाट निकालेर २ देखि ८ डिग्रीमा भण्डारण गर्न थालेपछि एक महिनाभित्र लगाइसक्नुपर्छ, नत्र खोप स्वतः खेर जान्छ । यसरी एक महिनासम्म नलगाउँदा केही ठाउँमा केही मात्रामा खोप खेर गएको हो । जिल्ला स्वास्थ्य कार्यालय काठमाडाँैका अनुसार खोप निकालेको एक महिनासम्म पनि मानिस मोर्डना खोप लगाउन नआएका कारण प्रयोग गर्न नमिल्ने भएको हो ।

काठमाडौँ जिल्लाका लागि लगाउन छुट्याइएको तीन हजार मात्रा मोडर्ना खोप लगाउने मानिस नहुँदा खेर गएको हो । “पछिल्लो समय खोप केन्द्रमा खोप लगाउन आउनेको सङ्ख्या एकदमै कम छ”, अधिकारीले भन्नुभयो, “मानिस नआउँदा खोप खेर गइरहेको छ ।”

सरकारले मानिस कोरोनाविरुद्धको खोप लगाउन नआएका कारण बुस्टर डोज पूर्ण खोप लगाएको तीन महिनामै लगाउन पाइने निर्णय गरेको छ । यसअघि पूर्ण मात्रा खोप लगाएको छ महिनापछि मात्र बुस्टर डोज खोप लगाउन मिल्दथ्यो । खोप शाखा प्रमुख सागर दाहालले चार करोड खोप अभियान सञ्चालन गर्दा पाँचदेखि १० प्रतिशत खोप खेर जानु सामान्य भएको बताउनुभयो । उहाँले खोप अभियानमा शतप्रतिशत खोप प्रयोग कतै पनि नहुने बताउनुभयो ।

हालसम्म नेपालमा ३७ लाख मात्रा मोडर्ना खोप नेपाल आइसकेको छ । नेपालमा १२ देखि १८ वर्षसम्मका बालबालिकाहरूलाई मोडर्ना खोप दिइएको थियो । १८ वर्षमाथिका उमेर भएका मानिसले पनि मोडर्ना खोप लगाउन सक्छन् ।