• ११ वैशाख २०८१, मङ्गलबार

सेजमा उद्योगीको आकर्षण

लक्ष्मण पौडेल

भैरहवा, चैत २४ गते । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न उद्योगीको आकर्षण देखिएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले माग गरेको आवेदनमा सेजको क्षमताभन्दा धेरै माग आएको हो ।
केही वर्षदेखि खाली रहेका सेजका ४५ प्लटमा उद्योग सञ्चालनका लागि प्रस्ताव आह्वान गरिएकामा ५५ प्लटका लागि आवेदन आएको प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिनुभयो ।

“धेरै उद्योगीले अहिले चासो देखाउनुभएको छ, यो सकारात्मक पक्ष हो,” उहाँले भन्नुभयो । ५२ बिघामा फैलिएको भैरहवा सेजमा ६८ वटा प्लट छन् । सेजमा अहिले सातवटा उद्योग सञ्चालनमा छन् ।सेजमा उद्योग स्थापनासम्बन्धी प्रावधान संशोधन हुने तयारी भएपछि सेजमा उद्योगीको आकर्षण बढेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताउनुभयो । भाडादर, निर्यात सिलिङलगायत विषयमा संशोधन गर्ने तयारी र भाडामा लिने व्यवसायीले पहिलो वर्ष भाडामा ५० प्रतिशत छुट पाउने भएपछि आकर्षण बढेको हो ।

आवेदन दिने ५५ उद्योगले सात अर्ब रुपियाँको लगानी र करिब २२ हजार जनालाई रोजगारी दिने प्रस्तावसहित आवेदन दिएका हुन् । हाल आवेदनमा परेका उद्योगले सेजमा उत्पादन गर्दा वार्षिक १० अर्ब रुपियाँ बराबर हुने अनुमान छ । निवेदनमध्ये ४५ वटा उद्योगले मात्रै लगानी र निकासीको अवस्थालाई हेरेर अनुमति पाउनेछन् ।

अहिले माग भएर आएका आवेदनमध्ये सबभन्दा बढी एक अर्ब २५ करोड रुपियाँको लगानी गर्ने प्रस्ताव बी एन्ड पी म्यानुफ्याक्चरिङले गरेको छ । यसैगरी सूर्य रङ हाउस प्रालिले १२ करोड रुपियाँको लगानी प्रस्ताव गरेको छ । यसबाहेक स्टिल, ढुङ्गाका मूर्ति बनाउने स्टोन उद्योग, प्लास्टिक उद्योगले पनि प्रस्ताव दिएका छन् ।

रुपन्देहीको रोहिणी गाउँपलिका–१, बगहामा निर्माण गरिएको यो विशेष आर्थिक क्षेत्रमा सातवटा उद्योग सञ्चालनमा छन् । सेज परिसरमा हाल ब्रिलिएन्ट एलईडी, शक्ति मिनरल, विस्तार कम्पनी, पञ्चकन्या उद्योग, जय बुद्ध र एस पोलिमरले उत्पादन गरिरहेका छन् । यीमध्ये केहीले निर्यात गरिरहेका छन् । सुरुमा सेजमा स्थापना भएका उद्योगले उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान रहेकामा अहिले ६० प्रतिशतमा झारिएको छ ।

विशेष आर्थिक क्षेत्रमा विशेषगरी वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्बल प्रोडक्ट, छालाका वस्तु, तयारी पोसाक, गलैँचा तथा ऊनी सामान, पस्मिना तथा रेशम, हातेकागजका वस्तु गरी १७ किसिमका उद्योग सेजमा रहने व्यवस्था छ ।