logo
२०८० चैत्र १५ बिहीवार



मजदुर र विपन्न परिवार भोकभोकै

राष्ट्रिय |
समाज |


मजदुर र विपन्न परिवार भोकभोकै



जनार्जन खत्री
सर्लाही, चैत १४ गते । लक डाउनका कारण मजदुरी गर्न नपाउँदा सर्लाहीका मजदुर तथा अति विपन्न परिवार समस्यामा पर्न थालेका छन् ।
घरमा खाने अन्न नभएको र काम पनि गर्न नपाएकाले भोकभोकै बस्नु पर्ने अवस्था आएको उहाँहरुको गुनासो छ ।

दैनिक मजदुरी गरेर विहान बेलुकाको छाक टार्ने डोम, मुसहर, चमार जस्ता दलित परिवार एवं अति विपन्न परिवारको घरमा खानेकुराको अभाव हुन थालेको हो ।
यस्तै, लक डाउनपछि विगत चार दिनदेखि जिल्लामा खाद्यान्नको विक्री गर्ने पसल व्यवसाय पनि बन्द हुँदा नागरिकलाई दैनिक उपभोग्य वस्तु खरिद गर्न समस्या भएको छ ।

तरकारी तथा फलफूलको खरिद विक्री हुने बजार, ग्याँस पसल जस्ता अत्यावश्यक वस्तुको किनबेच हुने पसल व्यवसाय पनि ठप्प हुँदा जनजीवन प्रभावित हुन थालेको हो ।
लक डाउनपछि सर्लाहीमा औषधि पसल, स्वास्थ्य संस्था र ग्रामीण भेगका केही किराना पसलबाहेक अन्य व्यापर व्यवसाय ठप्प छन् । राजमार्गमा बिरामी बोकेका एम्बुलेन्स र मालबाहक गाडी बाहेक अन्य सवारी सञ्चालन भएका छैनन् ।

लक डाउनको समयमा अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएका सर्वसाधारणलाई सुरक्षाकर्मीले सम्झाईबुझाई घरमै बस्न आग्रह गरेका छन् ।
जिल्लाका गाउँपालिका तथा नगरपालिकाहरु आफ्नो पालिकाभित्र भर्खरै वैदेशिक रोजगारीबाट फर्किएकाहरुको निगरानी गर्दै कोरोना भाइरस (कोभिड–१९) का शङ्कास्पद बिरामी राख्ने क्वारेन्टाइन स्थल निर्माणमा जुटेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?