logo
२०८० चैत्र १६ शुक्रवार



लकडाउन : बस भित्रै रक्तदान सेवा प्रभावकारी बन्दै

राष्ट्रिय |


लकडाउन : बस भित्रै रक्तदान सेवा प्रभावकारी बन्दै


वासुदेव पौडेल

पोखरा, चैत २० गते ।  कोरोना भाइरस (कोभिड —१९) सम्भावित जोखिमलाई कम गर्न जारी भएको लकडाउन अवस्थामा पनि यहाँ सञ्चालित बस भित्रको रक्तदान सेवा प्रभावकारी बन्दै गएको छ ।
रक्तदानका कार्यक्रम कम आयोजना भएपछि स्वास्थ्य सस्थामा रगत अभाव हुँदै गएको छ । पछिल्लो समय यहाँ सञ्चालनमा आएको बस भित्रको रक्तदान सेवा भने निकै उपयोगि बनिरहेको क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिनुभयो ।
रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले हालै यहाँ सञ्चालनमा ल्याएको थियो । बसभित्र रक्तदान गर्न आवश्यक सबै उपकरण जडान गरिएको छ । रगत सङ्कलन गर्ने यो बस वातानुकूलित छ । बसभित्रै रक्तदान श्यया, फ्रिज, प्राथमिक उपचार सामग्रीसहितको बक्स, स्टाफ नर्स र अक्सिजनको व्यवस्था एवं रक्त सञ्चारसम्बन्धी सूचनामूलक सामग्री राखिएका छन् ।
सो भाइरसका कारण भीड भाडमा बस्न नहुने वर्तमान अवस्थामा टोल टोलमा पुगी सानो सङ्ख्यामा रहेका रक्तदाताबाट पनि रगत सङ्कलन गर्न सकिने भएपछि बस निकै उपयोगी बनेको उहाँले जानकारी दिनुभयो ।

“लकडाउनका कारण यतिखेर अस्पतालमा रगतको अभाव हुँदै गएको छ,” उहाँले भन्नुभयो, “रगत अभावको यस अवस्थामा यसै बसमार्फत ठाउँ ठाउँमा पुगी रगत सङ्कलन गर्दै आएका छौं ।”
रगत अभावलाई कम गराउन रेडक्रस सोसाइटीका विभिन्न उपशाखा विभिन्न क्लब, टोल विकास संस्थाको सहयोगमा ठाउँ ठाउँमा बस पु¥याएर रगत संकलन भैरहेको प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्ला दिन पोखरामा एबी पोजेटिभ र ए पोजेटिभ रगतको अभाव देखिएको छ । बस मार्फत् पानी परेको बेला या प्रतिकूल मौसममा समेत रक्तदान कार्यक्रमलाई निरन्तरता दिन सकिने उहाँले जानकारी दिनुभयो ।
बसले चैत १ गते शनिबारदेखि रगत संकलन सुरु गरेको र हालसम्म करिब तीन सय ५० युनिट रगत सङ्कलन गरिसकिएको जनाइएको छ ।
रक्त संकलनका लागि सञ्चालित सो बस सेवा मार्फत पोखरालाई मुख्य आधार बनाएर तनहुँको आँबुखैरेनी, लमजुङको बेँसीशहर, स्याङ्जाको गल्याङ, पर्वत, बागलुङ, गोरखा र म्याग्दीसम्म पुगी रगत संकलन गर्ने लक्ष्य राखिएको छ । एम्बुलेन्स भित्र एक पटकमा तीन जना व्यक्तिले रक्तदान गर्न सक्दछन् ।
गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट प्रदेशको राजधानी पोखरामा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीको बढी चाप हुने गरेको र रगतको माग समेत बढेका अवस्थामा यस किसिमको सेवा बहुउपयोगी बन्ने विश्वास लिइएको भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले बताउनुभयो ।
रगत अभावको अवस्थालाई दृष्टिगत गर्दै मञ्चको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरी भित्रका कालिकास्थान, बसपार्क, लामगादी, पुडिटार, भगवती चौतारा, ठुलढुङ्गा लगायतका ठाउँमा पुगी रगत संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रत्यके चोक चोकमा १०÷१५ जनाको संख्यामा सर्वसाधारणले रक्तदान गरेको जानकारी दिदै उहाँले लकडाउनका अवस्थामा बस मार्फत गरिएको रक्तदान उपयोगी एवम् सुरक्षित रहेको पाइएको बताउनुभयो ।
लकडाउनको असहज परिस्थितिमा बस मार्फत गरिएको रगत संकन कार्य सहज एवम् सुरक्षित रहेका कारण प्रत्येक टोल विकास संस्था एवम् क्लबले रक्तदाता जुटाउन सहयोग गर्नुपर्ने बेला आएको महाकाली टोल विकास संस्थाका अध्यक्ष लालुप्रसाद पराजुलीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?