logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा ९३ वर्षीय कोरोना संक्रमित दम्पत्ती संक्रमणबाट मुक्त

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


भारतमा ९३ वर्षीय कोरोना संक्रमित दम्पत्ती संक्रमणबाट मुक्त


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १९ गते । भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमित ९३ वर्षीय एक पुरुष र उहाँको ८८ वर्षीया श्रीमति कोरोना मुक्त भएको संक्रमणबाट मुक्त भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । दुबैजनामा करिब एक महिना अघि संक्रमणको पुष्टि भएको थियो । अस्पताल अधिकारीले दुबैजनालाई अन्तिम परीक्षण गरी घर पठाइने तयारी गरिएको जनाएका छन् । दक्षिणी भारतको केरला राज्यका दम्पत्ती आफ्नो छोरी र ज्वाईको सम्पर्कमा आउँदा कोभिड–१९ बाट संक्रमित हुनुभएको थियो । दम्पत्तीकी छोरी र ज्वाई इटालीबाट फर्केका थिए ।
बीबीसीका अनुसार संक्रमित पुरुष उच्च रक्तचाप र मधुमेहको बिरामी समेत हुनुहुन्थ्यो । विश्वब्यापी रुपमा उच्च रक्तचाप र मधुमेहका बिरामी कोभिड–१९ को संक्रमित भए मृत्युको जोखिम उच्च रहने अनुमान गरिएको छ । उहाँलाई २४ घण्टासम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
संक्रमित दुबैजनालाई केरलको कोट्टायम मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सक डा. आरपी रेञ्जिनले तीन साता अघि भर्ना गरिदा दुबैजनाको स्वास्थ्य अवस्था जटिल र रिसाहा स्वभावको रहेको प्रतिक्रिया दिनुभयो । आईसीयूमा दुबैजनालाई अलग अलग भर्ना गरिएकोमा पछि काँचले छुट्याइएको एकै कोठामा दुबैजनाले एक अर्कोलाई हेर्न सक्ने गरी राखिएको थियो । एकै कोठामा राख्दा दुबै जना खुशी देखिएको डा. रेञ्जिनले बताउनुभयो ।
छोरी र ज्वाई दुबैजना इटालीबाट भारत फर्किदा विमानस्थलमा स्क्रिनिङ्ग छलेर घर पुगेका थिए । स्वास्थ्य अधिकारीले संक्रमित रहेको पुष्टि गर्दा परिवारका कतिपय सदस्यलाई संक्रमित बनाइसकेका थिए ।
भारतमा बुधबारसम्म संक्रमितको संख्या करिब एक हजार सात सय पुगेको छ । करिब ५० जनाको मृत्यु भएको छ । हालसम्म करिब एक सय पचास जना कोभिड–१९ संक्रमित संक्रमण मुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?