logo
२०८१ बैशाख ७ शुक्रवार

   भूकम्प सुरक्षा दिवस आज   

 


जोखिम कम गर्न योजनाबद्ध प्रयत्न

मुख्य समाचार |


जोखिम कम गर्न योजनाबद्ध प्रयत्न


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत् जोखिम न्यूनीकरणलाई दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले २३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भूकम्पलगायतका विपत्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सम्पूर्ण निकाय र नागरिकबीच सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
बाढी, पहिरो, महामारी, आगलागी, डढेलो, भूकम्पलगायत विपत्बाट मुलुक बारम्बार प्रभावित हुने गरेको चर्चा गर्नुहुँदै उहाँले २०७२ सालको भूकम्पले नेपाली समाजलाई नयाँ शिक्षासमेत दिएको स्पष्ट पार्नुभएको छ । उहाँले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणको अनुभवलाई आधार बनाएर बाढी पहिरोले क्षति गरेका देशभरिका हजारौँ घर पुनर्निर्माण गर्न यसै साता कार्यविधि पारित गरिएको समेत चर्चा गर्नुभएको छ । क्षति भएका घरलाई सुरक्षित स्थानमा पुनर्निर्माण गर्न हिमाली जिल्लामा प्रतिघर पाँच लाख, पहाडी जिल्लामा चार लाख र तराईका जिल्लामा तीन लाख रुपियाँ प्रतिलाभग्राहीलाई दिइने जनाइएको छ ।
त्यस्तै अस्थायी आवास निर्माणका लागि प्रतिलाभग्राही परिवारलाई ५० हजार रुपियाँ सहयोग गर्ने व्यवस्था गरिएको छ । सरकारले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लागू गरेको र ऐनले निर्देश गरेबमोजिम राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरिएको समेत जनाइएको छ ।
प्राधिकरणले जोखिमको जानकारी गराउन विपत् पोर्टलमा राख्ने व्यवस्था, बाढी र पहिरोको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, जिल्ला विपत् व्यवस्थापन समिति र स्थानीय विपत् व्यवस्थापन समितिलाई तालिम तथा उपकरण उपलब्ध गराई विपत् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कार्य सुरु गरिसकेको सन्देशमा उल्लेख छ । भूकम्पपछिको पुनर्निर्माणका समस्त अनुभव, ज्ञान, सीप, तथ्याङ्क र सिकाइलाई सुरक्षित राख्ने व्यवस्थाको समेत सुरुवात भइसकेको जनाइएको छ । विपत् जोखिम न्यूनीकरणका लागि सेन्डाई फ्रेमवर्क, दिगो विकास लक्ष्यहरू तथा पेरिस सम्झौतालगायतका अन्तर्राष्ट्रिय अनुबन्धले तय गरेका प्राथमिकता र लक्ष्यका आधारमा अगाडि बढ्ने दृढता उहाँले व्यक्त गर्नुभएको छ ।
भूकम्प, बाढी, पहिरो, आगलागी, महामारीलगायतका विपत्बाट सुरक्षित रहन नेपाली परम्परागत ज्ञान, सीप र विधिहरू निकै समृद्ध रहेको उहाँले चर्चा गर्नुभएको छ । ती ज्ञान, सीप र विधिहरूको समुचित उपयोग हुन नसकेको चर्चा गर्नुहुँदै उहाँले विश्वविद्यालय, अनुसन्धान संस्थामा यस विषयमा सघन प्रयत्न हुनुपर्छ भन्नुभएको छ ।
यसैबीच ‘बहुप्रकोपीय विपत्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित शुक्रबार २३औँ भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यो दिवस वि.सं. २०५५ देखि हरेक वर्ष माघ २ गते मनाइँदै आएको छ ।
भूकम्पबाट हुने जोखिमलाई अझ न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २३ वर्षदेखि माघ २ गतेलाई ‘भूकम्प सुरक्षा दिवस’ रूपमा मनाउने गरिएको हो । वि.सं. १९९० माघ २ गते नेपालमा ८.३ रेक्टर स्केलको महाभूकम्प गएको थियो । त्यस भूकम्पमा १५ हजार सात सय जनाको मृत्यु भएको थियो । त्यसमध्ये काठमाडौँमा चार हजारसहित नेपालमा करिब आठ हजार मानिसको मृत्यु भएको थियो । त्यही दिनको स्मरण गर्दै माघ २ गते ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाउन थालिएको हो । यस वर्ष मध्यपुर नगरपालिका थिमिको बोडेस्थित कुमारी पार्कमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीसहित भूकम्प दिवस मनाउन लागिएको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुह्ुने त्यो कार्यक्रम शुक्रबार दिउँसो आयोजना हुने प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । भूकम्प सुरक्षा दिवस मूल आयोजक समितिका संयोजक गृहमन्त्री रामबहादुर थापा रहनुभएको छ । नगरपालिकाको उपसंयोजनमा आयोजना गर्न लागिएको कार्यक्रमको स्थानीय तयारी पूरा भएको नगरपालिकाले जनाएको छ । भक्तपुरमा हुन लागेको कार्यक्रमले स्थानीय कला, संस्कृति र ऐतिहासिक सम्पदाको प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।भूकम्प आएको खण्डमा कसरी ज्यान जोगाउने भन्ने अभ्याससमेत हुनेछ । ‘घुँडा टेकी गुडुल्की ओत लागि समात’ भन्ने भावसहितको अभ्यासले आगामी दिनमा जनधनको क्षति रोक्न सघाउने विश्वास गरिएको छ । प्रमुख कार्यक्रमसँगै अन्य प्रदेश तथा स्थानीय तहमा विविध जनचेतनामूलक कार्यक्रम गर्न आयोजक समितिले निर्देशन दिएको छ ।
मुख्य कार्यक्रमअन्तर्गत भूकम्प सुरक्षासम्बन्धी दुई दिने राष्ट्रिय गोष्ठी, डिजिटल प्रदर्शनी तथा अन्य विविध जनचेतनामूलक गतिविधि सञ्चालन गरिने छ । जसमा भूकम्पबाट हुने क्षतिको नियन्त्रण तथा यसबाट जोगिन पूर्वतयारीका विविध विषयमा गहन बहस तथा व्यावहारिक छलफल हुनेछ ।
डिजिटल प्रदर्शनी ५ गतेसम्म जारी रहनेछ । भूकम्प सुरक्षा दिवसका विविध कार्यक्रम अनलाइनबाट समेत प्रत्यक्ष प्रसारण हुने भएकाले त्यसमा सहभागी भएर लाभ लिन सकिने प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले बताउनुभयो ।
विभिन्न समयमा ठूला भूकम्प नेपालमा आएका थिए । जसमध्ये पछिल्लो समय २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण भएको क्षतिको पुनस्र्थापना अझै पूर्ण रूपमा भइसकेको छैन । त्यसबाट भएको ठूलो जनधनको क्षतिको परिपूरणका लागि सरकारले छुट्टै प्राधिकरण नै गठन गरेर पहल गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?