logo
२०८१ बैशाख ७ शुक्रवार



मस्र्याङ्दी–काठमाडौँ डबल सर्किट विद्युत् प्रसारण लाइन : सहमति जुटे तीन महिनामै तयार

मुख्य समाचार |


मस्र्याङ्दी–काठमाडौँ डबल सर्किट विद्युत् प्रसारण लाइन : सहमति जुटे तीन महिनामै तयार


गोपालचन्द्र सुवेदी

काठमाडौँ, मङ्सिर २३ गते । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई दिगो र स्थिर बनाउने गरी नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको मस्र्याङ्दी–काठमाडौँ डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । धादिङको सिद्धिलेक गाउँपालिकामा गाड्नुपर्ने दुईवटा टावर र चार किलोमिटर तार जडानको कामबाहेक सबै काम सकिएको छ ।
लोड सेन्टरका रूपमा रहेको काठमाडाँै उपत्यकामा विद्युत् आपूर्ति गर्ने प्रमुख प्रसारण लाइनका रूपमा यो प्रसारण लाइन चार वर्षपहिले बनाउन थालिएको थियो । उपत्यकामा हाल त्रिशूली, कुलेखानी र लामोसाँघुदेखि विद्युत् आपूर्ति हुँदै आएको छ । कुल १२० तथा १३२ केभी क्षमताका यी प्रसारण लाइनका अतिरिक्त २२० केभी प्रसारण लाइनमार्पmत उपत्यकामा बिजुली ल्याउन यो प्रसारण लाइन बनाउन थालिएको हो ।
प्रसारण लाइन सुरु हुने तनहुँको मार्कीचोकमा रहेको सबस्टेसनमा विभिन्न निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् ल्याइने छ । त्यस्तै मनाङदेखिकै मस्र्याङ्दी नदीमा बनेका जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली मस्र्याङ्दी करिडोर प्रसारण लाइन हुँदै भरतपुरसम्म ल्याउन लागिएको छ । सो करिडोरको विद्युत् पनि उपत्यकामा ल्याउन यो प्रसारण लाइन बनाउन लागिएको हो ।
यो प्रसारण लाइनबाट ल्याइएको बिजुली काठमाडौँको मातातीर्थमा बनाइएको सबस्टेसनमा जोडिने छ । त्यहीँबाट उपत्यकाका वितरण लाइनहरूमा पठाइने छ । मस्र्याङ्दी र मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित ७०÷७० मेगावाटका साथै अन्य साना र निर्माण चरणमा रहेका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याउन यो प्रसारण लाइन अपरिहार्य मानिएको छ ।
हाल १२० केभी प्रसारण लाइनमार्फत मस्र्याङ्दी नदी बेसिनबाट उत्पादित विद्युत् उपत्यकामा आइरहेको छ । कम क्षमताको प्रसारण लाइनका कारण उपत्यकाको विद्युत् प्रणाली भरपर्दो हुन सकेको छैन । कुल ८२ किलोमिटर लामो यो प्रसारण लाइनमा २३१ टावर बन्नेछन् । पीपलटारमा स्थानीयको अवरोधका कारण दुईवटा टावर निर्माणको काम रोकिएको छ ।
प्रसारण लाइन अन्तर्गत ७८ किलोमिटर तार पनि तानिसकिएको छ । कुल २२० केभी क्षमताको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् ल्याउन सकिने भएकाले यसलाई सरकारले पनि महìवका साथ हेर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भन्नुभयो, “उपत्यकाको विद्युत् प्रणाली भरपर्दो बनाउन यो प्रसारण लाइन जति सक्यो छिटो बन्नुपर्छ, निर्माणमा देखिएको अवरोध हटाउन ऊर्जा मन्त्रालय आफैँ अग्रसर भएकाले छिट्टै प्रसारण लाइन निर्माण सम्पन्न हुने अपेक्षामा छौँ ।”
सिद्धिलेक गाउँपालिका पीपलटारका स्थानीयले टावर प्रस्तावित स्थानबाट स्थानान्तरण गर्नुपर्ने भन्दै निर्माणमा अवरोध गरिरहेका छन् । सोही अवरोधका कारण १८ महिनादेखि निर्माणको काम रोकिँदै आएको छ । प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख मनोज सिलवालका अनुसार स्थानीयसँग सहमति भएर निर्माण थाल्न पाएमा तीन महिनाभित्र सबै काम सकिने छ ।
उहाँले भन्नुभयो, “हामीलाई काम गर्ने वातावरण मिल्यो भने तीन महिनाभित्र प्रसारण लाइन बनाई सक्छौँ । स्थानीयवासी, जनप्रतिनिधिदेखि ऊर्जामन्त्री समेतले आयोजनाका लागि सकारात्मक चासो दिनुभएकाले समाधान छिट्टै निस्कने छ ।” एसियाली विकास बैङ्क (एडीबी)को सासेक पावर सिस्टम एक्स्पान्सन प्रोजेक्ट अन्तर्गत सहुलियतपूर्ण ऋणमा यो प्रसारण लाइन बनाउन लागिएको हो । प्रसारण लाइन निर्माणका लागि मुआब्जाबाहेक दुई अर्ब ५० करोड रुपियाँ खर्च लाग्ने सिलवालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?