logo
२०८१ बैशाख ६ बिहीवार



हिउँदे विपद्को पूर्वतयारी तीव्र

मुख्य समाचार |


हिउँदे विपद्को पूर्वतयारी तीव्र



चाँदनी हमाल

काठमाडौँ, मङ्सिर २१ गते । सरकारले सम्भावित शीतलहर तथा हिमपातबाट हुने क्षति कम गर्न विपद्को पूर्वतयारी तीव्र बनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था कार्यकारी समितिले चिसो मौसममा ‘सम्भावित शीतलहर तथा हिमपात प्रभाव न्यूनीकरण पूर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७७’ पारित गरेको छ । साथै त्यसलाई कार्यान्वयनका लागि काम अगाडि बढाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन पनि दिएको छ ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको समितिको बैठकले चिसोजन्य विपद्का लागि तत्काल पूर्वतयारी थाल्न निर्देशन दिइएको हो । बैठकलगत्तै प्राधिकरणले विपद्मा जुट्न स्वयंसेवक ब्युरो गठन तथा परिचालन निर्देशिका, २०७७ को मस्यौदामाथि बृहत् छलफल गरेको छ । सरकारको निर्देशन अनुसार प्राधिकरणले चिसोजन्य विपद्बाट आमजनतालाई सुरक्षा दिने कार्ययोजनामा काम थालेको प्रवक्ता जनार्दन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यान्वयनका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा पठाइएको छ । त्यसका साथै चिसोबाट बच्न सचेतनामूलक कार्यक्रम स्थानीय भाषामै तयार गर्ने तयारी पनि सुरु भएको छ ।
कार्ययोजना अनुसार शीतलहरबाट अति प्रभावित बन्ने तराईका ११ जिल्लालाई १५ लाख रुपियाँसम्मको न्यानो कपडा, कम्बल र दाउरा लगायतको व्यवस्था गरिने छ । कम प्रभावित ११ जिल्लालाई १० लाख रुपियाँसम्मका सोही सामग्री प्रदान गरिने छ ।
हिमाल छोएका २१ हिमाली जिल्लालाई सात लाख रुपियाँ बराबरको र ३४ पहाडी जिल्लालाई पाँच लाखसम्मको न्यानो कपडा लगायतका सामग्री प्रदान गरिने छ । त्यस्तै विपन्न वर्ग, जोखिममा परेका समुदायलाई समेत न्यानो कपडा, दाउरा लगायतका जाडोबाट सुरक्षित राख्ने सामग्री वितरण गर्ने तयारी भएको छ ।
कार्ययोजनाको निर्देशन अनुसार जिल्ला, प्रदेशस्थित विपद् व्यवस्थापन कोषमा रहेको बजेटबाट खर्च गर्न भनिएको छ । यदि त्यस कोषमा बजेट नरहेको अवस्थामा प्राधिकरणमार्फत तोकिए अनुसारको सोध भर्ना लिएर भए पनि जाडोबाट आम नागरिकको जिउज्यानको रक्षा गर्न भनिएको गौतमले बताउनुभयो ।

कम चिसो हुने अनुमान
यस वर्षको हिउँदमा औसतभन्दा कम चिसो हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । “हिउँदमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी सुक्खा र तातो हुने भएकाले कमचिसो हुने आकलन गरिएको हो,” वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले भन्नुभयो । विगतका वर्ष तुलनामा यस वर्षको हिउँदमा कम चिसो हुने प्रक्षेपण विभागले गरेको हो ।
पश्चिमी वायुको सक्रियता यस वर्ष नेपालमा कम हुने भएकाले पनि हिउँदमा वर्षा र हिमपात विगतभन्दा कम हुने अनुमान गरिएको छ । त्यसैले पनि औसतभन्दा कम चिसोको अनुभूति यसपटक हुने कँडेलले प्रस्ट पार्नुभयो । पश्चिमी वायुको प्रणाली दक्षिण एसियाको अफगानिस्तान, पाकिस्तान, भुटान, जम्मु–काश्मीर हुँदै नेपाल भित्रिने गर्छ । यी सबै क्षेत्रमा नै यस वर्ष अलिक सुक्खा र कम हिउँदे वर्षा रहने दक्षिण एसियाली जलवायु आकलन मञ्च (सास्कोफ)ले प्रक्षेपण गरिसकेको छ ।
सोही अनुसार नेपालको जल तथा मौसम विज्ञान विभागले पनि नेपालमा यस वर्षको चिसो सरदरभन्दा कम हुने सम्भावना सार्वजनिक गरेको हो । बेलायत, अमेरिका, युरोप लगायतका मुलुकले तयार पारेको जलवायु प्रारूप (मोडल)ले पनि दक्षिण एसिया क्षेत्रमा हिउँदमा हिमपात गराउने प्रणाली कम आउने देखाएको छ । जस अनुसार सरदरभन्दा बढी तातो र सुक्खा हुने र वर्षा सरदरभन्दा कम हुने पूर्वानुमान गरिएको छ ।
चिसो बढ्दै गरेको मौसमसँगै शनिबारदेखि आकाशमा बदलीको अवस्था सुरु भएको छ । यति बेला भारतको पूर्वी उत्तरप्रदेश र विहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीका कारण नेपालमा मौसम बदली र वर्षाको अवस्था ल्याएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ मा बदली बढी देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?