logo
२०८१ बैशाख १२ बुधवार



अध्यक्षद्वयबीच साढे तीन घण्टा छलफल, प्रस्ताव तयार

मुख्य समाचार |


अध्यक्षद्वयबीच साढे तीन घण्टा छलफल, प्रस्ताव तयार


लक्की चौधरी

काठमाडौं, भदौ २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच शुरुभएको बैठक सकिएको छ । बैठकले शुक्रबार बस्ने नेकपा स्थायी कमिटी बैठकको प्रस्ताव तयार गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे तीन घण्टा छलफल भयो । विहान ११ः३० बजेबाट शुरुभएको दुई अध्यक्षबीचको छलफल २ः४५ मा सकिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको थियो ।

बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन र त्यसमा थप्नुपर्ने विषय समेटेर दुई अध्यक्षले बैठकको प्रस्ताव तयार गर्नुभएको बुझिएको छ । भदौ १८ गते बसेको पार्टी सचिवालय बैठकमा वरिष्ठ नेताहरुले कार्यदलको प्रतिवेदनमाथि प्रश्न उठाउनुभएको थियो । कार्यदलको प्रतिवेदन २६ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत भएपछि त्यसमा थप सुझावसहित प्रतिवेदन पारित गर्ने तयारी अध्यक्षद्वयको छ ।

यसअघि साउन १३ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक स्थगित भएको थियो । त्यसपछि बैठक बसेको थिएन । स्थगित बैठक शुक्रबार बस्ने तय भएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार दुई अध्यक्षले लामो गृहकार्य गरेर बैठकको प्रस्ताव तयार गर्नुभएको छ । सो प्रस्ताव शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत हुनेछ । सोहीअनुसार प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार दुई अध्यक्षबीच लामो समय भएको छलफलले बैठकको प्रस्ताव तयारीमा केन्द्रित रहेको थियो ।

यसअघि गत सोमबार पनि दुई अध्यक्षबीच बालुवाटारमा एक घण्टा छलफल भएको थियो । कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा पार्टीमा देखिएको आन्तरिक विवाद सल्टाउनेगरी नेकपा अगाडि बढेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?