logo
२०८० चैत्र १५ बिहीवार



लामो दूरीका यातायात सञ्चालन गर्ने तयारी

व्यवसायीले मिति आज सार्वजनिक गर्ने

मुख्य समाचार |


लामो दूरीका यातायात सञ्चालन गर्ने तयारी


गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ६ गते । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर उनीहरूको माग पूरा गरे पनि व्यवसायी अझै तयार भएका छैनन् । सोमबार यातायात व्यवस्था विभागसँग छलफल गरी थप मागमा सहमति गरेका छन् तर कहिलेदेखि यातायात सञ्चालन गर्ने भन्ने कुराको कुनै निश्चित समय तोकिएको छैन ।
लामो र मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको छ । महासङ्घ र विभागबीच सोमबार भएको छलफमा लामो तथा मध्यम दूरी खुलाउन उच्चस्तरीय समितिलाई निर्णय गर्न विभागले तत्काल सिफारिस गर्ने सहमति भएको छ ।
यातायात मजदुरको एक लाखको कोरोना बीमामा सरकारले ५० प्रतिशत र यातायात व्यवसायीले ५ प्रतिशत अनुदान गर्ने सहमति भएको महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले जानकारी दिनुभयो । कोरोनाका कारण यातायात क्षेत्रमा कुनै पनि किसिमको मानवीय दुर्घटना भएमा क्षतिपूर्तिका लागि कोष स्थापना गर्न सम्बन्धित मन्त्रालयलाई विभागले पहल गर्ने भएको छ ।
यातायात मजदुरलाई आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था व्यवसायीले नै गर्ने तर यात्रुको स्वयंले व्यवस्था गर्नुपर्ने सहमति भएको छ । उपत्यकाका बस स्टेसनमा स्वचालित सेनिटाइजेसन काठमाडौँ महानगरपालिकाले राख्ने भएको छ तर कहिलेदेखि गाडी सञ्चालन गर्ने भन्ने सवालमा आफूहरूले मङ्गलबार पत्रकार सम्मेलन गरेर जानकारी दिने उपाध्यक्ष स्वाँरको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?