logo
२०८१ बैशाख ७ शुक्रवार



सतर्कता अपनाउन गृहको आग्रह

मुख्य समाचार |


सतर्कता अपनाउन गृहको आग्रह


गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २८ गते । गृह मन्त्रालयले मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न भागमा बाढीपहिरो र डुबानका कारण जनधनको क्षति हुने क्रम जारी रहेकाले थप सतर्क हुन आग्रह गरेको छ ।
बाढीपहिरो र डुबानका कारण सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट, पश्चिम रुकुम, कास्की, बाग्लुङ, लमजुङ, गुल्मी, चितवन, धनकुटा, बझाङ, कञ्चनपुर, पर्वत र पाल्पा लगायतका १८ जिल्लामा बढी क्षति भएको मन्त्रालयले जनाएको छ । ती जिल्लाका २२ स्थानमा पहिरो जाँदा नागरिकले ज्यान गुमाएका छन् । बेपत्ता र घाइतेको सङ्ख्या पनि त्यत्तिकै रहेको छ । सङ्घीय सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाट उद्धार, उपचार र राहत वितरण कार्य भइरहेको छ । गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले भारी वर्षा हुने क्रम जारी रहेकाले बाढीपहिरो र डुबान लगायत सम्भावित विपद्प्रति आवश्यक सर्तक हुन जरुरी रहेको बताउनुभयो । उहाँले उद्धारका लागि केन्द्रबाट हेलिकोप्टर सहितको उद्धार टोली परिचालन गरे पनि राहत वितरणको कार्यक्रम भने स्थानीय तहबाट भइरहेको जानकारी दिनुभयो । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढीपहिरो र डुबानमा परी ४४ भन्दा बढीको ज्यान गएको छ । ४२ जना बेपत्ता छन् भने ५० जनाभन्दा बढी घाइते छन् ।
बेपत्ता नागरिकको खोजी कार्य जारी छ । घाइतेको निःशुल्क उपचार भइरहेको छ । उहाँका अनुसार सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट र कास्कीमा तत्कालका लागि स्थानीय तह, रेडक्रसले नै त्रिपाल, खाना र लत्ताकपडाको व्यवस्था गरेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?