logo
२०८१ बैशाख ७ शुक्रवार



अस्पतालका सात कर्मचारीसहित आठ जनामा कोरोना पोजेटिभ

मुख्य समाचार |


अस्पतालका सात कर्मचारीसहित आठ जनामा कोरोना पोजेटिभ


रामहरि गजुरेल

नुवाकोट, जेठ ८ गते । नुवाकोट त्रिशूली जिल्ला अस्पतालमा कार्यरत सातजना कर्मचारीसहित आठ जनामा आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको छ । १६८ जनामा -यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट गर्दा आठजनामा कोरोना पोजेटिभ देखिएको हो ।
आरडीटी टेस्ट गर्दा आठजनामा शङ्कास्पद नतिजा देखिएको जिल्ला अस्पताल त्रिशूलीले जानकारी दिएको छ । आरडीटी टेस्ट पोजेटिभ देखिएकामध्ये एकजना त्रिशूली अस्पतालको आइसोलेसन वार्डमा रहेका बिरामी र बाँकी अस्पतालका कर्मचारी रहेको त्रिशूली अस्पताल नुवाकोटका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन डा. रेमकुमार राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालमा कार्यरत कर्मचारीमध्ये एक सुरक्षाकर्मी, दुई स्वास्थ्यकर्मी र अन्य एम्बुलेन्स चालकहरू छन् । उनीहरूको स्वाब सङ्कलन गरी काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला अस्पताल त्रिशूलीले जानकारी दिएको छ । आरडीटीमा पोजेटिभ देखिए तापनि पीसीआरबाट प्रयोगशालामा नेगेटिभ देखिनसक्ने चिकित्सहरूले बताएका छन् । नमूना सङ्कलन गरिएकाहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
नमूना सङ्कलन गरिएका १५ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु लगिएको छ । आरटीडी परीक्षणमा पोजेटिभ हुँदैमा आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सतर्कता भने अपनाउनुपर्ने अस्पतालका फोकल पर्सन डा. अमितकुमार श्रेष्ठले बताउनुभयो ।

आरडीटीबाट कोरोना पोजेटिभ देखिएकाहरूको पीसीआर परीक्षणका लागि नमुना पठाइने स्वास्थ्य कार्यालय नुवाकोटका कोभिड फोकल पर्सन जर्नादन शिलवालले भन्नुभयो, ‘थप जाँचका लागि स्वाब सङ्कलन गरेर पीसीआर गरेपछि कोरोना पोजेटिभ हो वा होइन आधिकारिक रूपमा पुष्टि हुन्छ ।’

कोरोनाबाट मृत्यु भएकी महिलाको गाउँका ५४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
सिन्धुपाल्चोक समाचारदाता चित्र मिजारका अनुसार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण नेपालमा नै पहिलो पटक मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको सम्पर्कमा आएका ५४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९, राम्चे गाउँको चालिसेटोल, रातामाटा, ठोटनेरी, कालापानीगाउँ, टारबिसौनाका साथै मृतक महिलाको माइती गाउँलगायतका स्थानमा स्वास्थ्य टोली पुगेर आइतबार र सोमबार गरी १९७ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।
तीमध्ये ५४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ अधिकृत दुर्गादत्ता चापागाईंले जानकारी दिनुभयो । स्वाब काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको बाँकीको एक दुई दिनमा नै रिपोर्ट आउने उहाँले बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमित मृतक महिलाको शिशु, श्रीमान, माइतीघरको आमा र बहिनीको पीसीआर रिपोर्ट यसअघि नै नेगेटिभ आएको चापागाईंले जानकारी दिनुभयो । परीक्षणको नतिजा नेगेटिभ आएपछि स्थानीयमा त्रास कम हुँदै गएको स्थानीय शिक्षक बलराम तिमल्सिनाले बताउनुभयो ।
सुत्ेकरी महिलाको कोरोना भाइरसका कारण मृत्यु भएपछि जिल्ला सुरक्षा समितिले बाह्रबिसे नगरपालिका ९ र बलेफी गाउँपालिका वडा नम्बर ७ र ८ लाई सिल गरेको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?