logo
२०८० चैत्र १५ बिहीवार



नेपाल–भारत सीमामा थप कडाइ

मुख्य समाचार |


नेपाल–भारत सीमामा थप कडाइ


देवबहादुर कुँवर

काठमाडौँ, चैत २८ गते । नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ ।
त्यस्तै लकडाउन पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले सङ्केत गरेको छ । भारत–नेपाल बीचको सीमा खुला छ । खुला सीमाको ९२५ स्थानमा सशस्त्र प्रहरीसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मन्त्रालयका उच्च अधिकारीका अनुसार सीमा नाका अनुगमन तथा आवतजावतमा कडाइ गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भएको छ । सीमा अनुगमन चौकी (बीओपी) सुरक्षा सशस्त्र प्रहरीको जिम्मेवारी भएकाले सशस्त्र प्रहरी बलको पाँच हजार जनशक्ति स्थलगत रूपमा खटिएको छ ।
नेपालको पूर्व–पश्चिम र दक्षिण गरी २६ जिल्ला भारतसँग जोडिएका छन् । तीमध्ये धेरै जिल्लामा स्थानीय बासिन्दाको वारि गाउँ छ भने पारिपट्टि बारी छ । त्यस्तै पारिपट्टि गाउँ वारि खेतबारी रहेको छ । तराईका केही जिल्ला र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बैतडी र दार्चुलामा अनौपचारिक बाटो प्रयोग भएको पाइएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले भारतमा रहेका नेपाली लुकिछिपी अनौपचारिक बाटो प्रयोग गरी आउन थालेपछि थप कडाइ गरिएको बताउनुभयो । केही दिनअघि बैतडीमा अनौपचारिक बाटो प्रयोग गरी आएका १३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै बुधबार अनौपचारिक बाटो प्रयोग गरी दार्चुलामा प्रवेश गरेका ३३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरमा पनि कृष्णपुर नयाँबस्ती र दोधारा चाँदनी लगायतका सीमाबाट अवैध प्रवेश भएपछि २० गतेबाट थप कडाइ गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
मन्त्रालयले पनि सीमा नाकामा चौबीसै घण्टा सुरक्षा पहरा दिन संयुक्त सुरक्षा गस्ती, स्थानीय प्रशासनलाई उच्चसुरक्षा सतर्कता अपनाउन निर्देशन दिइसकेको छ । गृह प्रवक्ता केदारनाथ शर्माले दुवै देशका सरकारबीच भएको सहमति अनुसार सीमामा कडाइ गरिएको स्पष्ट पार्नुभयो ।
लकडाउनका क्रममा सीमापारि रोकिएका नेपालीको व्यवस्थापन भारत सरकारले र वारि रोकिएका भारतीय नागरिकको नेपाल सरकारले व्यवस्थापन गर्ने निर्णय गरिएको छ । दुई छिमेकी मुलुक चीनको तुलनामा भारतमा फैलिएको कोरोना सङ्क्रमण नेपालका लागि चुनौती बन्दै गएको छ ।
नेपालले आन्तरिक स्वास्थ्य सतर्कता तथा उपचार सेवा विस्तार गरेसँगै नेपाल–भारत सीमामा कडाइ गर्दा कोरोना भाइरस महामारीको सङ्क्रमणबाट नेपाललाई सुरक्षित राख्न सक्ने अपेक्षा गरिएको छ । सीमा जोडिएका प्रत्येक स्थानीय तहले अवैध प्रवेश र घुसपैठमा प्रतिबन्ध लगाइसकेका छन् । सीमा नाकामा प्रदेश सरकार, स्थानीय प्रशासन र स्थानीय तहको वडा स्तरसम्म सहकार्य गरी नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाइ गरेको पाइएको छ । कतिपय स्थानमा भने केही व्यक्ति मध्यरातमा हिँडेर वारि आउने र पाहुना लाग्ने गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?