logo
२०८० चैत्र १५ बिहीवार



‘कोरोना फैलिन नदिन सचेत छौँ’

मुख्य समाचार |


‘कोरोना फैलिन नदिन सचेत छौँ’


प्रकाशविक्रम शाह

धनगढी, चैत २४ गते । सुदूरपश्चिम प्रदेश कोरोना भाइरस (कोभिड–१९) को चपेटामा पर्न थालेको छ । अहिलेसम्म कैलालीमा तीन र कञ्चनपुरमा एक गरेर चार जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दुई जना भारतबाट र एक जना संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट आएका हुन् भने एक जनालाई बाहिरबाट आएका व्यक्तिबाट सरेको देखिएको छ ।
फागुन अन्तिम सातादेखि अहिलेसम्म भारतबाट मात्रै सुदूरपश्चिमका विभिन्न नाका भएर एक लाख ४३ हजार नेपाली घर फर्किएका छन् । तीमध्ये प्रायः सबै सुदूरपश्चिमकै हुन् । त्यसलै देश बाहिरबाट आउनेबाट कोरोना भाइरस फैलिन नदिन स्थानीय तहमा क्वारेन्टाइन बनाइएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बताउनुहुन्छ ।
उहाँले म आफँैले कतिपय ठाउँमा क्वारेन्टाइन राख्ने ठाउँ खोजँे, सम्बद्ध पक्षसँग नियमित छलफल गरेर आवश्यक निर्देशन दिइरहेको छु, कामको अनुगमन गरिरहेको छु तर पनि केहीले प्रदेश सरकार र ममाथि सामाजिक सञ्जालबाट आक्रमण गरिरहेका छन्, म आवश्यक काम गरिरहेको छु तर विज्ञापन गर्न आवश्यक ठान्दिनँ भन्नुभयो ।
उहाँले हामी आक्रमणबाट आत्तिएका छैनौँ, भ्रामक प्रचारको विश्वास नगर्न सुदूरपश्चिमवासीलाई अनुरोध गर्दछु । हामीले परिणाम निकाल्ने गरेर काम गरिरहेका छौँ, त्यसैले मेरो प्रदेशवासीलाई आग्रह छ । लकडाउन पालना गरौँ । देशबाहिर वा देश भित्रैबाट पनि गाउँ बस्ती पुगेकालाई अनिवार्य क्वारेन्टाइनमा राखौँ भन्नुभयो ।
यसैगरी उहाँले क्वारेन्टाइनमा बस्न नचाहनेलाई बस्न प्रेरित गरौँ । सामाजिक दूरी कायम राखौँ, रोग नलुकाऔँ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सङ्क्रमितको हौसला बढाउने काम गरौँ । हामीले निश्चित मापदण्ड पूरा गर्न सक्यौँ भने कोरोनामुक्त समाज बनाउन सक्नेछौँ भन्दै स्पष्ट पार्नुभयो । कोरोनाविरुद्ध प्रदेशको तयारीका विषयमा उहाँको भनाइ यहाँ प्रस्तुत छ ः

क्वारेन्टाइन व्यापक
खास गरेर भारतबाट वा अन्य मुलुकबाट आएकालाई लक्षित गरेर नौ वटै जिल्लाका प्रायः सबै स्थानीय तहमा क्वारेन्टाइन बनाइएका छन् । ती ठाउँमा नेपालकै अन्यत्रबाट आउनेलाई समेत राख्ने गरिएको छ । क्वारेन्टाइन प्रभावकारी बनाउन पटक पटक छलफल गरेका छौँ । नौ वटै जिल्ला समन्वय समितिका संयोजक, प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य अधिकारी समेतलाई राखेर प्रत्यक्ष रूपमा भिडियो कन्फरेन्स पनि गरिएको छ ।

आइसोलेसनको व्यवस्था
अहिले हामीसँग धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा २३ शय्याको आइसोलेसन कक्ष छ । महाकाली अस्पताल भीमदत्तनगरमा पनि १५ शय्या छन् । नौ वटै जिल्लामा जतासुकै कोरोना सङ्क्रमित भेटिए पनि सेतीमै ल्याएर उपचार गर्ने व्यवस्था मिलाइएको छ । त्यस अनुसार कैलालीका तीन र कञ्चनपुरको एक गरेर चार जना कोरोना सङ्क्रमितको उपचार सेतीमा भइरहेको छ । सेतीमा अहिले एउटा मात्रै भ्येन्टिलेटर छ । तीन वटा थप्ने प्रक्रिया अगाडि बढेको छ । हामी अझै थपौँ भन्नेमा छाँै ।
परीक्षण उपकरणको अवस्था
अहिले सङ्घीय सरकारले पठाएको उपकरणबाट कोरोना सङ्क्रमण हो कि होइन भन्ने पत्ता लगाउने प्रयास भइरहेको छ । त्यो उपकरणबाट एक पटक परीक्षण भइसकेको छ, अब त्यसले पनि गति लिनेछ । त्यो उपकरण पनि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । थप तीन वटा उपकरणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले बोलपत्र गरिसकेको छ । ती तीन उपकरण धनगढीको स्वास्थ्य कार्यालयको भवन, बैतडी र डोटीको जिल्ला अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौँ । हामीले सेतीका साथसाथै डोटी र बैतडी अस्पताललाईकोरोना उपचार केन्द्रका रूपमा विकास गर्न खोजिरहेका छाँै ।

राहत कोष स्थापना
प्रदेश सरकारले ४० करोड रुपियाँको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ । त्यसमा मन्त्री, सांसद, बैङ्कसहित जनस्तरबाट समेत गरेर थप ५७ लाख रुपियाँ सहयोग जम्मा भइसकेको छ । उपचारका लागि रकम अभाव हुन दिँदैनौँ, प्रदेशवासीले ढुक्क हुँदा हुन्छ । यसै बीचमा कोरोना रोग नियन्त्रण र व्यवस्थापन गर्न ११ करोड ५० लाख रुपियाँ विनियोजन गरिसकेका छौँ । कारोनामै काम गर्नका लागि ८८ वटा स्थानीय तहलाई तीन करोड सःशर्त अनुदान पनि दिएका छाँै । त्यसमध्ये पाँच लाख रुपियाँ उपमहानगरपालिकालाई, चार लाख रुपियाँ नगरपालिकालाई र तीन लाख रुपियाँका दरले गाउँपालिकालाई अनुदान दिइएको छ । काम गरेर खाने मजदुर लगायतका वर्गको खातामा राहत पठाउन खोजिरहेका छौँ, त्यसका लागि तथ्याङ्क सङ्कलन पनि भइरहेको छ । खाता नभएका निकै विपन्न, असहायलाई खाद्यान्न सामग्री वितरण पनि गरिरहेका छौँ ।

अलपत्र नेपाली ल्याउन प्रयासरत
म भारतमै बसेर काम गरेर आएकोमान्छे हुँ । त्यसैले पनि मलाई भारतमा काम गर्नेका पीडा र समस्या राम्ररी थाहा छ । सीमा क्षेत्रमा नेपालीको हालत देख्दा दुखित छु । यतिबेला प्रदेश सरकारले गर्दा सीमामा धेरै अलपत्र परे भन्ने आरोप लागिरहेको छ । सबैलाई थाहा छ सीमा खोल्ने वा बन्द राख्ने भन्ने अधिकार सङ्घीय सरकारसँग छ तर पनि हामीले सङ्घीय सरकारलाई अनुरोध गरेर धेरैलाई नेपाल आउने व्यवस्था गरेका
छौँ । अझै पनि सीमापारि रहेकालाई नेपाल ल्याउन प्रयास गरिरहेका छौँ ।

खाद्यान्न र औषधिको अवस्था
लकडाउन बढेर गएपछि पनि हाम्रो प्रदेशलाई खाद्यान्न र औषधिको अभाव हुने स्थिति छैन तर पनि यथार्थ अवस्था पत्ता लगाउँदै छौँ । त्यसपछि केही अपुग हुने भएपछि तत्कालै औषधि र खाद्यान्नको जोहो गरिनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?