logo
२०८१ बैशाख ११ मंगलवार



जिम्मेवारी पूरा गर्छाैं : सेना

मुख्य समाचार |


जिम्मेवारी पूरा गर्छाैं : सेना


भउचप्रसाद यादव

काठमाडौँ, चैत २४ गते । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई नेपाली सेनाले पारदर्शी बनाउने भएको छ । स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने सरकारको निर्णयप्रति भइरहेको टीकाटिप्पणीप्रति सङ्केत गर्दै सेना सरकारकै अङ्ग भएको स्पष्ट पारेको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा पत्रकारसँग आइतबार गरिएको भिडियो संवादमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले नेपाली सेनाले नेपालको संविधान र प्रचलित ऐन, नियम तथा नेपाल सरकारबाट निर्दिष्ट जिम्मेवारी वहन गर्दै आएको बताउनुभयो । उहाँले सरकारले विश्वास गरेर अहिलेको यो जिम्मेवारी दिएको छ । हामी पूरा गर्न तयार र प्रतिबद्ध छौँ भन्नुभयो ।
मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकारदेखि सरकार (जीटूजी) विधिबाट खरिद गर्ने निर्णय गरेपश्चात् नेपाली सेनाले आवश्यक प्रक्रिया अगाडि बढाएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।
“नेपाली सेनाले नेपालको संविधान र प्रचलित ऐन, नियम तथा नेपाल सरकारबाट निर्दिष्ट जिम्मेवारी अनुरूप देश र जनताप्रति वफादार रही उच्च मनोबलका साथ विपत्् व्यवस्थापनको गुरुत्तर दायित्व पूरा गर्दै आएको कुरा सर्वविदितै छ” थप्नुभयो–“सेना सरकारको अङ्ग हो । सेनाले जिम्मेवारी पाए पनि निर्णायक काम गर्ने सरकार नै हो ।”
कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यमा नेपाली सेनाले सुरुदेखि नै नेपाल सरकारको निर्देशन बमोजिम अग्रपङ्क्तिमा रही काम गर्दै आइरहेको स्मरण गर्दै उहाँले चीनको वुहानबाट नेपाली विद्यार्थीको उद्धार गरी क्वारेन्टाइनको व्यवस्थापन, प्रदेश तथा स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माणमा सेनाले महìवपूर्ण भूमिका निर्वाह गरिरहेको स्पष्ट पार्नुभयो ।
स्वास्थ्य सामग्री खरिद प्रक्रियाका क्रममा विश्व स्वास्थ्य सङ्गठनद्वारा मान्यता प्राप्त सामग्री मात्र खरिद गरिने, मध्यस्थकर्ताको प्रयोग नगरिने, गुणस्तरमा कुनै सम्झौता नगरिने, प्रतिस्पर्धात्मक पद्धतिद्वारा मूल्य निर्धारण गरिने, सामग्री र यातायातको छुट्टाछुट्टै मूल्य निर्धारण गरिने र समय सीमाभित्र आपूर्तिकर्ताबाट आपूर्तिको व्यवस्था गरिने योजना प्रवक्ता पाण्डेले सुनाउनुभयो ।
त्यसैगरी, खरिद प्रक्रियालाई सार्वजनिक खरिद ऐन तथा नियम(ावलीको परिधिभित्र रही पारदर्शी र मितव्ययी ढङ्गबाट व्यवस्था गर्न औषधि, उपकरण तथा स्वास्थ्य सामग्री खरिद व्यवस्थापन समिति गठन गर्ने योजना अनुसार कार्य अघि बढाइएको जानकारी दिइएको छ । नागरिकको जीवन रक्षाका लागि आवश्यक उपकरण गुणस्तरीय र प्रतिस्पर्धी मूल्यमा यथाशीघ्र खरिद गर्ने बताउँदै प्रवक्ता पाण्डले खरिद प्रक्रियामा कुनै द्विविधा र शङ्का नरहोस् भनेर परीक्षणका लागि छुट्टै संयन्त्र तयार गरिएको जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?