logo
२०८१ बैशाख ७ शुक्रवार



विदेशमा रहेका नेपाली सुरक्षित

मुख्य समाचार |


विदेशमा रहेका नेपाली सुरक्षित


चाँदनी हमाल

काठमाडौँ, चैत २० गते । कोरोना भाइरस (कोभिड–१९) यतिबेला २०३ देशमा फैलिइसकेको छ । विश्वभर नै आठ लाख ५९ हजार ९१३ सङ्क्रमित भएका छन् । तीमध्ये ४२ हजार ३४४ को ज्यान कोरोनाले लिएको छ । त्यस्तै एक लाख ७८ हजार ३५६ जनाले भाइरसलाई जितेर घर फर्किएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अद्यावधिक गरेको छ ।
अमेरिकामा छोटो समयमै चार हजार ५५ को ज्यान गएको छ । त्यहाँ एक लाख ८८ हजार ५९२ सङ्क्रमित छन् । अमेरिकाका नेपाली मूलका एक जनाको कोराना सङ्क्रमणबाट मृत्यु भयो । इटलीमा हालसम्म १२ हजार चार सयको ज्यान गयो । त्यहाँ एक लाख पाँच हजार ७९२ सङ्क्रमित छन् । स्पेनमा आठ हजार ४६४ र चीनमा तीन हजार ३१२ को ज्यान गएको छ ।
युरोपका इरान, फ्रान्स, जर्मनी, बेलायत, स्विट्जरल्यान्डमा सङ्क्रमण बढ्दो छ । बेलायतमा चार जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली श्रम बजार रहेको मध्यपूर्वी एसियालाई डब्लूएचओको कोरोना भाइरसको उच्च जोखिमको क्षेत्र भनेको छ । श्रम गन्तव्य मुलुकमा सङ्क्रमणकै कारण नेपाल सरकारले श्रम स्वीकृति रोकेको छ । नेपाल प्रवेश गर्न २०२० अप्रिल ३० सम्म रोक लगाइएको छ । विदेशका नेपाली यतिबेला कोही
जोखिममै काम गर्दैछन् । कोही सेल्फ क्वारेन्टाइनमा छन् ।

विदेशमै लक डाउनमा नेपाली
मलेसियापछि सबैभन्दा बढी नेपाली रहेको स्थान कतार हो । यहाँ वैध, अवैध, व्यवसाय गरी बसेका झन्डै आठ लाख जना नेपाली रहेको अनुमान छ । “पूरै लकडाउन छैन, काम चलिरहेको छ, अन्य सावधानी अपनाइरहेको छु,” दोहामा कार्यरत ईश्वरराज पौडेलले भन्नुभयो । ट्याक्सीमा दुई जनासम्म यात्रा गर्न छुट छ । भीडभाडमा हिँड्दा साढे एक मिटर दूरी कायम गर्नुपर्छ । बजार, पसलमा पनि दूरी कायम गरेर किनमेल गर्र्नुपर्छ ।
पौडेलका अनुसार नेपाली श्रमिक अत्यधिक रहेको सनैया लेबर क्याम्प लक डाउनमा छ । यो क्षेत्र दोहाबाट दक्षिणमा पर्छ । त्यहाँ नेपाली, बङ्गाली, भारतीय र अन्य मुलुकका समेत कामदार बस्छन् । एक जना बङ्गालीको कोरोनाका कारण मृत्यु भएपछि कडाइ गरिएको छ । त्यहाँ झन्डै १५ हजार नेपाली नागरिक छन् ।
स्थानीय र विदेशी नागरिकलाई सरकारले कुनै भेदभाव गरेको छैन । राजदूतावासले सुरक्षित रहन सार्वजनिक सूचना जारी गरेकोे छ । नेपाली तथा हिन्दी भाषामा स्थानीय रेडियोले बच्ने उपाय अवगत गराइरहेको छ । १६००० नम्बरको टोलफ्री दिएको छ । कुनै समस्या परेमा सम्पर्क गर्न भनिएको पौडेलले बताउनुभयो ।

तलब नपाउने चिन्ता
संयुक्त अरब इमिरेट्स (युएई) नेपाली श्रमिकको अर्को राम्रो गन्तव्य हो । कोरोना सङ्क्रमण फैलिन नदिन यतिबेला धेरै कम्पनीले काम बन्द गरेका छन् । तीमध्ये एक मोबाइल कम्पनीमा काम गर्ने २३० जना नेपाली अधिकांश समय कोठाभित्र बस्छन् । “कोठामा आठ जना छौँ, बाहिर नडुल्ने, एउटै परिवार जसरी बस्ने गरेर सुरक्षित रहेका छौँ,” त्यहाँ कार्यरत मोहन बस्यालले भन्नुभयो ।
कोठामा छुट्टै खाट, खानाको व्यवस्था छ । काम नगरेको समयको तलब काटिने भएर कामदार चिन्तित छन् तर भिसा सकिनेको अटोमेटिक भिसा थपिदिएको छ । उहाँका अनुसार पूर्ण लकडाउन छैन । रातको ८ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्युजस्तै छ । त्यो अवधिमा सडकमा औषधि छरिन्छ । जुन भवनमा कोरोना सङ्क्रमण भेटिन्छ । लक गरेर सफा गरिन्छ । रातमा बाहिर निस्कने करिब ६४ जनालाई पक्राउ गरी छुट्टै क्वारेन्टाइनमा राखिएको छ । बाहिर निस्कँदा बारम्बार शरीर स्यानिटाइज गरिन्छ ।

दक्षिण कोरियामा सहज
दक्षिण कोरिया विद्यार्थी र कामदार रहेको अर्को मुलुक हो । यहाँ ५० हजार नेपाली छन् । एकताका चीनपछि यहाँ बढी सङ्क्रमण थियो । त्यहाँको सरकारले कडाइका साथ सुरक्षात्मक उपाय अपनाएपछि सुधार भएको छ । पूरै लकडाउन छैन । स्कुल, कलेजमा अनलाइन पढाइ भइरहेको छ ।
“हिँड्दा मास्क अनिवार्य छ, ठाउँठाउँमा अटोमेटिक मेसिनमा परीक्षण हुन्छ, हरबखत सहर स्यानिटाइज गर्ने सक्रिय छन्,” कोरियामा रहनुभएकी मनु भट्टराईले भन्नुभयो । यात्रुको सुविधाका लागि ठाउँठाउँमा हेल्थडेस्क छ । विद्यार्थी प्रज्ञा सापकोटा अनलाइन
पढाइमा व्यस्त हुनुहुन्छ । उहाँका अनुसार रेल र अन्य सवारीमा सुरक्षात्मक रूपमा हिँड्न दिइएको छ ।

अस्ट्रेलियामा घरमै पढ्दै
अस्टे«लियाबाट माया भण्डारीले त्यहाँ रहेका धेरै विद्यार्थी सुरक्षित छन् । अनलाइन पढाइ भएकाले घरभित्रै बसेर सेवा लिइरहेका छन् । परराष्ट्र मन्त्रालयले कामदार मुलुक र विदेशमा रहेका नेपालीको जानकारी हरेक दिन लिइरहेको छ । विभिन्न देशका राजदूतसँग भिडियो सम्मेलन गरी सतर्क रही नेपालीको सुरक्षा गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्देशन दिनुभएको छ ।
मन्त्रालयस्थित मध्यपूर्व, पश्चिम एसिया र अफ्रिका विभागका प्रमुख हरिश्चन्द्र घिमिरेले विदेशका नेपालीको अवस्था सन्तोषजनक रहेको जानकारी दिनुभयो । पछिल्लो तथ्याङ्कअनुसार युएईमा दुई जनाको कोरोना सङ्क्रमण निको भएको छ । मार्च ३१ मा थप दुई जना गरी छ जनाको उपचार चलिरहेको त्यहाँस्थित दूतावासले जनाएको छ ।
घिमिरेका अनुसार बहराइनमा तीन जनामा सङ्क्रमण देखिएको छ । साउदी, कुवेत लगायत अन्य मुलुकमा सङ्क्रमण देखिएको छैन । “धेरै कामदार बाहिर
छन्, यो स्थिति लम्बिँदा रोजगारी र आर्थिक समस्या बढ्न सक्छ,” घिमिरेले
भन्नुभयो । जसको विश्लेषण गर्न मन्त्रालयले थालेको छ ।
नेपालको कुल गार्हस्थ उत्पादनको एक चौथाइ हिस्सा रेमिट्यान्स हो । अर्थतन्त्रमा हाल २५.१ प्रतिशत अंश रेमिट्यान्सले ओगटेको छ । मन्त्रालयका अनुसार युएईमा दुई लाख ५० हजार, कतारमा चार लाख, साउदी अरबमा तीन लाख ५० हजार, बहराइनमा ३५ हजार, ओमनमा २५ हजार, कुवेतमा ७० हजार, मलेसियामा पाँच लाख, कोरियामा ५० हजार नेपाली छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?