logo
२०८१ बैशाख ८ शनिवार



उपत्यकामा घुम्ती सेवामार्फत ग्यास

मुख्य समाचार |


उपत्यकामा घुम्ती सेवामार्फत ग्यास



लक्ष्मण दर्नाल

काठमाडौँ, चैत १९ गते । नेपाल आयल निगमले लकडाउनको समयमा बिशेष वर्ग तथा क्षेत्रलाई घुम्ती सेवामार्फत् ग्यास उपलब्ध गराएको छ । लकडाउनका बेला खाना पकाउने ग्यासको अभाव भोगिरहेका सामान्य उपभोक्तालाई निगमले घुम्ती सेवा मार्फत बितरण सुरु गरेको हो ।
काठमाडौँका उपभोक्ताले कोरोना भाइरसको कारण बजारमा ग्यास अभाव हुनसक्ने आशंकाले आबश्यकताभन्दा बढी मौज्दात ग्यास राखेपछि दैनिक मजदुरी गर्ने तथा अपागंता भएका व्यक्तिलगायतले ग्यास पाउन नसकेको भन्दै निगमले उनीहरुलाई घुम्ती सेवामार्फत् ग्यास उपलब्ध गराउन सुरु गरेको हो ।
निगमले १२ वटा वर्गको पहिचान गरी घुम्ती सेवा प्रदान गरेको छ । अशक्त, अस्पताल, बृद्धाश्रम, बालगृह, अनाथालय, कारागार, किरियाघर, पुनस्र्थापना तथा सुधारगृह, निःशुल्क भोजन गराउने संघसंस्था, दीर्घरोगी, सरकारले तोकेका क्वारिन्टीन, गरिब तथा मजदुर कर्मचारीलाई घुम्ती सेवाबाट ग्यास वितरण गरेको छ । यसका लागि निगमले टेकुस्थित कार्यालयमा सम्पर्क कार्यालय सञ्चालन गरेको छ ।
उपभोक्ताले सम्पर्क कार्यालायमा फोन गरेपछि निगमले ग्यास पुर्याउँछ । चक्रपथ आसपाससम्म ग्यास पुर्याइएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो “लकडाउनको समयमा बजारमा सहज पहुँच हुन नसकिरहेका र बिशेष तथा संबेदनशील स्थानका लागि बिशेष व्यवस्था गरिएको हो यसले निम्न वर्ग तथा क्षेत्रलाई राहत हुनेछ । ”
सम्पर्कका लागि निगमले मोवाइल नम्बर सार्वजनिक गरेको छ । निगमले तोकेका १२ वटा वर्गमा रहेकाहरुले उक्त नम्बरमा सम्पर्क गरेर ग्यासको माग गर्न सक्नेछन् । निगमले ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३ नम्बरमा सम्पर्क गर्नसक्ने जनाएको छ ।
उपाध्यायले भन्नुभयो “अति आवश्यक पर्ने उपभोक्ताले हामीले तोकेको सम्पर्क नम्बरमा सम्पर्क गरेर ग्यास लिन सक्नुहुन्छ, साधारण उपभोक्तालाई लक्षित गर्दै हामीले रिङरोड क्षेत्रमा ग्यास वितरण गरेका छौं सकभर माग भएका ग्यास सिलिण्डर नै दिन्छौँ । ” सो वर्गका लागि मंगलवार एकसय सिलिन्डर ग्यास वितरण गरिएको छ ।
निगमले आम उपभोक्ताका लागि चैत १४, १५, १६ र १७ गते चारदिनमा एकलाख ६४ हजार पाँचसय एक सिलिन्डर ग्यास वितरण गरेको छ । १७ गतेमात्रै ७६ हजार आठसय एक सिलिण्डर ग्यास वितरण गरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?