logo
२०८१ बैशाख ७ शुक्रवार



फुर्सदले निम्त्याएको पुस्तक प्रेम

मुख्य समाचार |


फुर्सदले निम्त्याएको पुस्तक प्रेम


शान्ति लामा

काठमाडौँ, चैत १६ गते । कोरोना भाइरस (कोभिड–१९)को महामारी रोक्न सरकारले लकडाउन घोषणा गरेपछि मानिसको दैनिकी फेरिएको छ । सधैँ पेसा, व्यवसाय तथा मजदुरीमा व्यस्त रहने सर्वसाधारण अहिले घरभित्रै बसिरहेका छन् ।
यो समयलाई मानिस विभिन्न तरिकाले सदुपयोग गरिरहेका छन् । अध्ययनमा रुचि हुनेहरूका लागि यो पुस्तक पढ्ने राम्रो अवसर बनेको छ । कामले व्यस्त भएर पढ्न नपाएका पुस्तक पढ्न थालेका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि यतिबेला पुस्तक अध्ययनमा व्यस्त हुनुहुन्छ । उहाँले ट्विटरमा “कोरोना सिर्जित गृहबन्दी अवस्थाको सदुपयोग गर्न र देशको आन्तरिक राष्ट्रियतासम्बन्धी ज्ञान गहिरो पार्न
बालकृष्ण पोखरेलको झन्डै ९०० पृष्ठको ‘खस जातिको इतिहास’ पढ्ने सुर कसियो” भन्नुभएको छ ।
पत्रकार शुष्मा बराली यतिबेला घरमै बसी काम गरिरहनुभएको छ । आफ्नो काम सकेपछि दिनमा धेरै समय खाली हुन्छ । यस्तो बेला पुस्तकहरू उहाँको पनि साथी भएका छन् । “दिनभरि काम हुँदैन । पुस्तक पढेर रमाइरहेको छु,” उहाँको भनाइ छ । अहिले आफ्नो हातमा युग पाठकको ‘माङ्गेना’ र आहुतिको ‘नेपालमा वर्ण व्यवस्था र वर्ग सङ्घर्ष’ नामक पुस्तक रहेको पत्रकार बरालीले बताउनुभयो ।
व्यवसायी सुमित रेग्मी पनि लकडाउनको समय पुस्तक पढेर बिताइरहनुभएको छ । नेपाली साहित्यमा रुचि राख्ने उहाँ नेपाली आख्यानहरू पढेर बिताउने र आफ्नो छोरीलाई समेत पढ्न प्रेरित गर्ने बताउनुहुन्छ । यसरी घर बसाइलाई रमाइलो र ज्ञानबद्र्धक बनाउन सर्वसाधारणले पुस्तक रोजेका छन् । सामाजिक सञ्जालको लत र अफवाहबाट छुटकारा पाउने उपायका रूपमा समेत पुस्तकलाई उपयोग गरिरहेका छन् । आफूले पढिरहेको पुस्तकका बारेमा सामाजिक सञ्जालमा चर्चा गरी मानिसहरू अरूलाई पनि पढ्न प्रेरित गरिहेका छन् ।
सुर्खेत निवासी विनोद शाहीले सामाजिक सञ्जालमार्फत फुर्सदको समयमा पढ्न सकिने एक दर्जन किताब सुझाउनुभएको छ । नेपाली साहित्यका बहुचर्चित लेखकहरू लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, पारिजात, शङ्कर लामिछाने लगायतका पुस्तकहरू ‘सेल्फ क्वारेन्टाइन’का साथी हुनसक्ने उहाँले ट्विट गर्नुभएको छ ।
घरमै बसेर सामाजिक दूरीको अभ्यास गर्नुपरेको यो समयका लागि विभिन्न ई–पुस्तकालयहरू पनि उपयुक्त विकल्प हुन सक्छन् । घरमा इन्टरनेट भएमा आफ्नो मोबाइल वा कम्प्युटरमा आफूले चाहेजस्तो पुस्तक डाउनलोड गरी पढ्न सकिन्छ । ई–पुस्तकालय नामक डिजिटल लाइब्रेरीले सित्तैमा विभिन्न पुस्तकको अनलाइन संस्करण उपलब्ध गराएको छ ।
बालसाहित्यदेखि कलेज युनिभर्सिटीका किताब तथा सन्दर्भ सामग्री, राजनीति, दर्शन, समाजशास्त्र, विज्ञान, इतिहास, स्वास्थ्यसम्बन्धी पुस्तकहरू सुन्न, हेर्न र पढ्न सकिने गरी उपलब्ध गराइएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?