logo
२०८१ बैशाख ८ शनिवार



कोरोना सङ्क्रमितको आग्रह  मेरो ख्याल गरियोस्

मुख्य समाचार |


कोरोना सङ्क्रमितको आग्रह  मेरो ख्याल गरियोस्


प्रकाशविक्रम शाह 

धनगढी, चैत १६ गते । शुक्रबार कोरोना भाइरस (कोभिड(१९)को सङ्क्रमण भएको पुष्टि भएका धनगढीका ३४ वर्षीय युवकले आफ्नो उपचारमा विशेष ख्याल गरिदिन आग्रह गर्नुभएको छ ।
शुक्रबार दिउँसो सङ्क्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको छुट्टै आइसोलेसन वार्डमा राखिएका युवकले आफूलाई बेलाबेलामा आएर स्वास्थ्यकर्मीले परामर्श अनुरोध गर्नुभएको छ ।  औषधि के खाने हो, त्यो पनि दिनुप¥यो र खानेकुरा के गर्ने, तातोपानी तताउन हिटर र थर्मस त मैले घरबाटै ल्याएको छु, उहाँले भन्नुभयो ।
उहाँ चैत ११ गते सेती प्रादेशिक अस्पताल आउनुभएको थियो । दुवईबाट आएको भनेपछि उहाँलाई अस्पतालमै राखिएको थियो । उहाँमा सुरुमा ज्वरो ९७ डिग्री मात्रै भए पनि सामान्य खोकी लागेको छ । अस्पतालले शुक्रबार नै एक विज्ञप्ति जारी गरेर बिरामीको अवस्था सामान्य रहेको बताएको थियो ।
चैत ७ गते शुक्रबार युनाइटेड अरब इमिरेट्स (युएई)को दुवईबाट इमिरेट एयरलाइन्समा दिल्ली र दिल्लीमा छ घण्टाको ट्रान्जिटपछि बिस्तरा एयरलाइन्सबाट दिउँसो साढे चार बजे काठमाडौँ आएको उत्रिएको उहाँले जानकारी दिनुभएको छ । त्यो दिन काठमाडौँमै मामाघरमा बसेर चैत ८ गते नेपालगञ्जसम्म बुद्ध एयरमा र त्यसपछि अटोरिक्सामा कोहोलपुर, माइक्रोबसमा अत्तरिया र अत्तरियाबाट बसमा धनगढी पुगेको उहाँले बताउनुभयो । सङ्क्रमित युवक चार वर्षदेखि दुवईमा कार्यरत हुनुहुन्थ्यो ।
धनगढी समाचारदाता अविनाश चौधरीका अनुसार कोरोना भाइरस सङ्क्रमित व्यक्तिको परिवारका सबै सदस्यको शनिबार स्वास्थ्य जाँच गरिएको छ ।  शनिबार सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समार्फत अस्पताल ल्याएर परिवारका सबै सदस्यको स्वास्थ्य परीक्षण गरिएको हो ।  परीक्षणपश्चात उहाँहरूलाई कभर्ड  हलस्थित क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।  उहाँको परिवारमा बुवाआमा, श्रीमती, छोरी, दाजुभाउजूसहित सात जना हुनुहुन्छ । उहाँहरू सबैको थ्रोट स्वाबको नमुना परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको जनाइएको छ ।

आयस्रोत नभएकालाई राहत दिइने
गोदावरी समाचारदाता भवानी ऐरका अनुसार कोरोनाको सङ्क्रमण धनगढीमा देखापरेपछि सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक रूपमा शनिबार बसेको मन्त्रिपरिषद बैठकले जोखिम नियन्त्रणको प्रयासलाई थप प्रभावकारी बनाउने भएको छ ।
बैठकले ४० करो रुपियाँको कोरोना भाइरस जोखिम नियन्त्रण तथा व्यवस्थापन कोष स्थापना गरेर विभिन्न सङ्घसंस्थालाई सहयोगका लागि आह्वान गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।
सङ्घीय सरकारसँगको समन्वयमा तत्काल कोरोनाको परीक्षण गर्ने सुविधा सम्पन्न प्रयोगशाला प्रदेशमा एक हप्ताभित्रै स्थापना हुने उहाँको भनाइ छ ।   सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि रकमान्तरण गर्दै जारी लकडाउनबाट आयस्रोत गुमेका मजदुर, विपन्न तथा गरीब परिवारका लागि विशेष राहतको प्याकेज ल्याउने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

लकडाउन उल्लङ्घन गर्ने पक्राउ
बैतडी समाचारदाता गोकर्ण दयालका अनुसार लकडाउनका बेला भारतबाट आएकालाई स्वास्थ्य परीक्षण बिना नै महाकाली नदीमा डुङ्गा चलाएर नेपाल भिœयाइ लकडाउन उलङ्घन गर्ने जनप्रतिनिधिलाई पक्राउ गरिएको छ ।
पञ्चेश्वर गाउँपालिका– २ का वडा सदस्य नैनसिंह मङ्गोलालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताउनुभयो ।   भारतबाट आएकालाई क्वारेन्टाइनमा राखेको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने पुरचौडी नगरपालिकाका नरेन्द्रसिंह जागिरीलाई पनि पक्राउ गरेर अभद्र व्यवहारमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
नेपाल आएका मध्ये बझाङका ८२ जना, डडेल्धुराका नौ जना, कैलालीका एक जना, बैतडीको पुरचौडी नगरपालिकाका ७७ जना र अन्य सात जना बैतडीका विभिन्न स्थानीय तहका रहेका छन् । कोरोना परीक्षण सहायता कक्ष स्थापना भएयता दुई हजार नेपाली भारतका विभिन्न सहरबाट नेपाल भित्रिएको सीमा प्रहरी चौकी झुलाघाटले जानकारी दिएको छ ।
यसैबीच, सङ्क्रमणको आशङ्कामा जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा राखिएका दुई जनाको स्वाब परीक्षणमा कोरोना नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

धारचुलाबाट २२५ नेपालीको उद्धार
दार्चुला समाचारदाता लोकन्द्र जोशीका अनुुसार भारतको धारचुलामा तीन दिनदेखि अलपत्र परेका दुई सय २५ जना नेपालीको शुक्रबार राति उद्धार गरिएको छ । उद्धारपछि उनीहरूको स्वास्थ्य परीक्षण तथा तथ्याङ्क सङ्कलन गरेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको छ ।
उद्धार गरिएका मध्ये दार्चुलाको मार्मा गाउँपालिकाका ६९, नौगाड गाउँपालिकाका ५८, दुहुँ गाउँपालिकाका १५, महाकाली नगरपालिकाका नौ, लेकम गाउँपालिकाका दुई र मालिकार्जुन गाउँपालिकाका एक जना रहेका छन् । यस्तैगरी बैतडीका ४१, बझाङका १२, बाजुराका दुई, कैलालीका ४, बाँकेका तीन  र जाजरकोटका नौ जना रहेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । दुईवटै देशको समन्वयपछि पुल खोलेर उनीहरूलाई नेपाल ल्याइएको हो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?