logo
२०८० चैत्र १५ बिहीवार



इन्डक्सन चुलो र महसुलमा छुट

खुला |


इन्डक्सन चुलो र महसुलमा छुट


गोपालचन्द्र सुवेदी

काठमाडौँ, चैत १४ गते । सर्वसाधारणले ग्यास अभाव महसुस गरिरहेका बेला सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्न चुलो तथा विद्युत् महसुल दुवैमा सहुलियत दिने भएको छ । सरकारको पछिल्लो कदमले नेपालीले इन्डक्सन चुलो १५ प्रतिशत सस्तो र विद्युत् महसुलमा २० प्रतिशत छुट पाउने भएका हुन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार तत्काल कार्यान्वयनमा आउने गरी खाना पकाउने प्रयोजनमा इन्डक्सन प्रयोगकर्तालाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यसअनुसार मासिक १५० युनिटसम्मको खपतमा ग्राहकलाई कम्तीमा एक महिना यस्तो छुट दिइनेछ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनका बेला इन्डक्सन चुलोको प्रयोग बढाउने गरी महसुलमा छुट दिने सैद्धान्तिक निर्णय गरेको थियो । सोहीअनुरूप अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयका उच्च अधिकारी सम्मिलित बिहीबारको वैठकले १५० युनिटसम्मको खपतमा ग्राहकलाई २० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार शुक्रबार बस्ने नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले यो विषयमा थप निर्णय गरी कार्यान्वयनमा ल्याइनेछ । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुनुहुन्छ । “सङ्कटका बेला नेपाली जनतालाई केही राहत होस् र ग्यास खपत पनि कम होस् भन्ने हिसाबले हामीले यस्तो निर्णय लिएका हौँ”, मन्त्री पुनले भन्नुभयो, “यो निर्णयबाट करिब ३६ लाख ५० हजार ग्राहक लाभान्वित हुनुहुनेछ ।” इन्डक्सन चुलो प्रयोग गरिरहेकालाई प्रोत्साहन र नगरेका ग्राहकले पनि अब प्रयोग गर्नुहुनेछ भन्ने अपेक्षा सरकारको रहेको मन्त्री पुनले बताउनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?