logo
२०८१ बैशाख ८ शनिवार



आपूर्ति बढ्दासमेत तरकारीको मूल्य बढ्यो

मुख्य समाचार |


आपूर्ति बढ्दासमेत तरकारीको मूल्य बढ्यो


सीता शर्मा

काठमाडौँ, चैत १० गते । काठमाडौँ उपत्यकामा गएको एक महिनाको तुलनामा दैनिक उपभोग्य तरकारीको मूल्य बढेको छ । तरकारीको आपूर्ति बढे पनि माग अत्यधिक भएकाले मूल्य बढेको व्यापारी बताउँछन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार मात्रै कालीमाटी बजारमा एक हजार १६५ मेट्रिकटन तरकारी भित्रिएको छ । जबकि अघिल्ला दिनमा दैनिक सात÷आठ सय मेट्रिकटनको हारहारीमा मात्रै भित्रिएको थियो । शनिबार भित्रिएको तरकारीमध्ये कालीमाटीमा प्याज मात्रै २६० मेट्रिकटन भित्रिएको छ भने आलु २२५ मेट्रिकटन तरकारी भित्रिएको छ र अरू अन्य तरकारी भित्रिएका हुन् ।
सो समितिका उपनिर्देशक विनय श्रेष्ठले तरकारीको आपूर्ति बढे पनि माग ह्वात्तै बढेकाले गोलभेँडा, आलु, काउलीलगायतका तरकारीको भाउ महँगो भएको बताउनुभयो ।
समितिको तथ्याङ्क अनुसार एक साताको बीचमा गोलभेँडा, काउली, गाँजर, मूला, सिमी, आलुलगायतका तरकारीको मूल्य ३५ देखि ५० प्रतिशतसम्म महँगो भएको छ । यस्तै पछिल्लो एक महिनामा गोलभेँडामा ३३३ प्रतिशतसम्म महँगो भएको छ । गएको फागुन १० गते प्रतिकेजी १२ रुपियाँ थोक मूल्यमा कारोबार भएको सानो गोलभेँडा चैत ९ गते बढेर थोकमै ५२ रुपियाँ पुगेको छ । यस्तै सो अवधिमा स्थानीय काउली प्रतिकेजी १५ रुपियाँमा थोकमा किनबेच भइरहेको थियो अहिले बढेर प्रतिकेजी थोकमै ३५ रुपियाँ पुगेको छ । त्यसैगरी सो अवधिमा ज्यापू काउली, भिण्डी, सिमीलगायत तरकारीको मूल्य महँगो भएको छ । समितिको तथ्याङ्क हेर्दा थोक बजारमा प्याज र सागपातबाहेक अन्य तरकारी महँगो भएको छ ।
समितिका अनुसार उपत्यकामा अहिलेसम्म तरकारीको आयातमा कुनै समस्या छैन । भारतबाट आउने तरकारी पनि निर्वाध आइरहेका छन् । कालीमाटीका थोक व्यापारी भने शुक्रबार प्रधानमन्त्रीको सम्बोधनपछि तरकारीको माग ह्वात्तै बढेकाले मूल्यमा चाप देखिए पनि यो अब धेरै नबढ्ने दाबी गरेका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?